कोरोना संक्रमितको निःशुल्क उपचार गर्न देउवाको आग्रह

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न देउवाको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सरकारलाई आग्रह गरेका छन्।
 

कोरोना परीक्षण तथा संक्रमितको उपचार आफैले गर्नुपर्ने भनि सरकारले गरेको निर्णय फिर्ता लिएर निःशुल्क परीक्षण र उपचार गर्न देउवाले आग्रह गरेका हुन्।

बिहीबार विज्ञप्ति प्रकाशित गर्दै देउवाले कोरोना महाकारीका कारण देशमा सर्वत्र त्रास छाएको विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पीडा थप्ने काम गरेको आरोप लगाएका छन्।

सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरि घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशनका साथै सर्बोच्च अदालतको पनि अपहेलना गरेको देउवाले बताएका छन्।

‘नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमितको उपचारसमेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णय निन्दनीय र लज्जास्पद छ’ देउवाले विज्ञप्तिमा भनेका छन्,‘यस निर्णयले सरकार जनताका प्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको छ।’

‘संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मीक स्वास्थ सेवावाट वञ्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ’  विज्ञप्तिमा भनिएको छ,‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो। सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नु पर्छ।’

कोभिड–१९ नियन्त्रणको सन्दर्भमा सरकार प्रारम्भ देखिनै गैरजिम्मेवार रहेको आरोप लगाउँदै देउवाले समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परीक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई इज्जतपूर्वक सुरक्षित घरफिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण रहेको औंल्याएका छन्।

कांग्रेसले समयमा दिएका सुझावलाई पनि सरकारले वास्ता नगरेको भन्दै देउवाले महामारीको भयावह अवस्था सृजना हुनुमा नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकार जिम्मेवार रहेको आरोपसमेत लगाएका छन्।

‘देशमा कालाबजारी, महंगाई, मिसावट, कृतिम अभाव, भ्रष्टाचार र बेथिति उग्ररुपले प्रकट भएको छ। आर्थिक पारदर्शीता, अनुशासन र मितव्ययिता छैन। अनावश्यक काममा सरकारी ढुकुटी खर्च भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘नागरिकको स्वास्थ्यबारे सरकार असंवेदनशील बनेको छ।’

कात्तिक ६, २०७७ बिहीबार १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।