रअका प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट
काठमाडौं : भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीसँग गोयलले शिष्टाचार भेट गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बुधबार नेपाल आएका गोयल साँझ प्रधानमन्त्री ओलीसँग भेट गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको विज्ञप्तिमा उल्लेख छ।
सत्तारुढ नेकपाभित्र विवाद चर्किएका बेला रअ प्रमुखले गरेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवणेले आगामी महिना नेपाल भ्रमण गर्नुअघि रअ प्रमुखको भ्रमण गरेका छन्।
कात्तिक ६, २०७७ बिहीबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।