मकैको खलियाभित्र तीन लाख नक्कली नोट
काठमाडौं : मकवानपुरको राक्सिराङस्थित एक घरको मकै खलियाबाट चितवन प्रहरीले तीन लाख बढी नेपाली नक्कली नोट बरामद गरेको छ।
राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा लुकाइराखेको १ हजार रुपैयाँका ३ सय २ थान नक्कली नोट बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।
चितवन प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङका अनुसार कार्तिक ४ गते दिउँसो चितवनको राप्ती नगरपालिका–५ भण्डारामा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार भएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरी टोलीले खोजतलासका क्रममा सोही वडाको चौकीडाँडाबाट १२ थान नक्कली नोटसहित लोप्चनलाई नियन्त्रणमा लिएको गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
लोप्चनले भण्डारास्थित युनिक होटलमा खाजा खाएबापत बुझाएको १ हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किनेबापत बुझाएको ६ हजार रुपैयाँ बरामद गरेपछि उनी नक्कली नोटको कारोबारी रहेको आशंका गरेको थियो।
चितवनबाट गएको प्रहरी टोलीले हलिजेस्थित उनको घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाइएको अवस्थामा उक्त नक्कली नोटका बिटा भेटिएको गुरुङले जानकारी दिए।
अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा संलग्न अन्य दुई जनाको पहिचान भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार अहिले बजारमा भेटिएका नक्कली नोटहरु झट्ट हेर्दा सक्कली जस्तै देखिन्छन्। ‘तर छाम्दा पहिचान गर्न सकिन्छ, अहिले भेटिएका नक्कली नोटमा सेक्युरीटी थ्रेड र वाटर मार्क छैन’, जिल्ला प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापाले भने।
हालिजे क्षेत्र गाँजा खेती धेरै हुने क्षेत्र भएकाले गाँजाको कारोबारमा नक्कली नोटको प्रयोग भएको आशंका प्रहरीले गरेको छ।
कात्तिक ६, २०७७ बिहीबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।