डमी ट्राफिकमा कसरी पलायो जुरो ?
काठमाडौं : काठमाडौंका मुख्य चोकहरूमा राखिएका डमी ट्राफिक प्रहरीमा जुडो पलाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिकासँग सहकार्यमा राजधानीका २२ ठाउँमा राखिएका डमी ट्राफिकमा जुरो पलाएको हो।
महाशाखाले सुरुमा राखेका सबै डमीहरू पुरुष ट्राफिक प्रहरीका थिए। पछिल्लो समय डमीमा जुरो पलाएर एकाएक महिला ट्राफिक प्रहरी देखिन थालेका छन्।
कुल डमीमध्ये करिव एकतिहाईमा जुरो पलाएको छ। सुरुमा पुरुष ट्राफिक प्रहरी देखिने डमीमा एकाएक जुरो पलाएर महिला ट्राफिक प्रहरी देखिएपछि देख्नेहरू अचम्ममा परेका छन्।
‘पहिले त डमीमा पुरुष ट्राफिक प्रहरी देखिन्थे। आजभोलि त जुरो पलाएर महिला ट्राफिक प्रहरी देख्दा अचम्म लाग्यो,’ जाउलाखेलका अनिल खड्काले भने, ‘एकाएक यस्तो कसरी भयो जान्न मन लागेको छ।’
.jpg)
महाशाखाले भने सबै डमी पुरुष ट्राफिक प्रहरी राख्दा गुनासो आउन थालेपछि महिला ट्राफिक प्रहरीको डमी पनि राख्न थालिएको जनाएको छ।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादवले समानताका लागि महिला प्रहरीको पनि डमी राख्न सबैतिरबाट सुझाव आएपछि त्यस्तो गरिएको बताए।
‘पुरुष र महिला दुवै ट्राफिक प्रहरीले सामान काम गर्ने तर डमी महिला पुरुषको मात्रै हुने भनेर गुनासो आयो,’ यादवले भने, ‘महिला ट्राफिकको सम्मानका लागि नयाँ डमीमा महिला पनि राखिएको हो।’
थापाथलीमा कार्यरत एक ट्राफिक महिला प्रहरीले सुरुमा पुरुष डमी मात्र राखेको महाशाखाले पछिल्लो समय जुरो मात्रै हालेर पनि महिला डमी बनाएकोमा खुसी व्यक्त गरिन्।
महाशाखाले सुरुमा सिंहदरबार, सातदोबाटो, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्दीप, भद्रकाली, थापाथली, कालिमाटी, कलंकी, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगाती गरी २२ ठाउँमा ती डमीहरू राखेको थियो।
पछिल्लो समय राखिएका १५ वटा डमी महिला ट्राफिक प्रहरीका रहेको यादवले जानकारी दिए। महाशाखाले उपत्यकाका ५० ठाउँमा डमी ट्राफिक प्रहरी राख्ने योजना बनाएको छ।
बाँकी १३ वटा डमी पनि केही दिनभित्रै राखिने यादवले जानकारी दिए। डमीले ट्राफिक नियमका विभिन्न जानकारीमूलक सन्देश बोकेका छन्।
महाशाखाले राजधानीका अति व्यस्त पाँच वटा चोकमा ट्राफिक नियमसम्बन्धी सचेताना फैलाउन साउण्ड बक्ससहितका डमी राख्ने तयारी गरेका छ।
डमीको फाइदैफाइदा
पछिल्लो सयम कोरोना संक्रमित प्रहरीहरूको संख्या बढ्न थालेपछि जनशक्ति अभाव हुँदा महाशाखाले डमी राख्ने योजना बनाएको हो।
.jpg)
टाढाबाट हेर्दा ट्राफिक प्रहरीजस्तै देखिने भएकाले डमीले ट्राफिक नियम पालना गर्न सघाउ पुर्याएको यादवले सुनाए।
यादवका अनुसार डमी ट्राफिक सन्देश लेखिएको होडिङ बोर्ड बोकेर २४ सैं घण्टा उपस्थिति हुने भएकाले चालकले सवारीको गति आफै नियन्त्रण गर्छन्।
‘मापसे गरेर सवारी चलाउने चालकअगाडि ट्राफिक प्रहरी देख्दा टाढैबाट सचेत भएर गाडी चलाउँछ,’ यादवले भने, ‘यसले सवारी दुर्घटना न्यूनीकरणमा निकै योगदान पुर्याएको छ।’
महामारीमा जनशक्ति व्यवस्थापनमा पनि डमीले महत्त्वपूर्ण सहयोग गरेको उनले बताए।
महाशाखाका अनुसार उपत्यकामा हाल एक हजार ४६५ ट्राफिक प्रहरी कार्यरत छन्। तीमध्ये दुई सय पाँचजना महिला र एक हजार २६० जना पुरुष छन्।
कात्तिक ५, २०७७ बुधबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।