जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई चयन
जनकपुरधाम : जनता समाजवादी पार्टी नेपाल (जसपा)को संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई चयन भएका छन्।
काठमाडौंको तुलसी लाल आमात्य प्रतिष्ठानमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो।
सोमबार सुरु भएको उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको एक नेताले जानकारी दिए।
केन्द्रीय समितिको अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव छन्।
विधान संशोधन गरि केन्द्रीय समितिको आकार बढाइएको छ। यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्यीय बनाएको हो।
आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले बताए। विधान संशोधन प्रस्ताव सर्वसहमतिले पारित गरेको उनको भनाइ छ।
वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो। दुवै पार्टीलाई समायोजन गर्नका लागि आआफ्नो तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो।
त्यस्तै, अनुशासनसम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ। अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ।
पार्टीको कारबाही प्रक्रियामा पनि केही खुकुलो बनाइएको छ। यसअघि पार्टीको हितविपरीत काम गरेमा सिधै कारवाही गर्ने प्रावधान थियो भने अहिले सच्चिने मौका दिने प्रावधान राखिएको छ। त्यस्तै, सदस्यता लगायतका केही विषयमा पनि संशोधन गरेको स्रोतले जनाएको छ।
सरकारले आधारभूत शिक्षालाई खारेज गरेकोप्रति पनि जसपाले आपत्ति जनाएको छ ।
कात्तिक ४, २०७७ मंगलबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।