कर्णाली विवादबारे ओली-दाहाल पक्षको परस्पर विरोधी वक्तव्य
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवादबारे अध्यक्षद्वय पक्षबाट परस्पर विरोधी वक्तव्य सार्वजनिक भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदबाट हटाउने सांसदहरूको अविश्वासको प्रस्तावबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार बिहान छलफल भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विवाद समाधानका लागि भएको सहमतिबारे दुवैतर्फबाट परस्पर विरोधी भनाइ सार्वजनिक भएका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा कर्णालीको विवाद समाधानका लागि चार बुँदे सहमति भएको दाबी गरिएको छ।
विज्ञप्ति अनुसार मुख्यमन्त्रीमा शाही कायम रहने, प्रमुख सचेतकमा यामलाल कँडेल पक्षका गुलावजंग शाह नै रहने र नेकपा प्रदेशसभा संसदीय दलका नेता शाहीले प्रमुख सचेतक नियुक्त गरेकी सीता नेपालीलाई सचेतकमा कायम गरेर विवाद पूर्वको अवस्था कायम राख्ने सहमति भएको बताइएको छ।
यस्तो छ थापाको विज्ञप्ति
थापाको विज्ञप्ति सार्वजनिक भएको केही बेरपछि दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि प्रेस विज्ञप्ति जारी गरेका छन्।
सापकोटाले जारी गरेको विज्ञप्तिमा भने यमलाल कँडेल लगायतका नेताहरूले दर्ता गराएको अविश्वासको प्रस्ताव खारेज गर्ने र बाँकी विषय प्रदेशसभा तथा पार्टीको प्रदेश कमिटीले तय गर्ने लेखिएको छ।
यस्तो छ साप्कोटाको विज्ञप्ति
दाहाल निकट मुख्यमन्त्री शाहीलाई हटाउनका लागि ओली पक्षका सांसद कँडेललगायत १८ सांसदले अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा दर्ता गराएका थिए।
दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अविश्वासको प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएपछि कँडेल समूह अल्पमतमा परेको थियो।
कात्तिक ४, २०७७ मंगलबार २०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।