असई र जवानको हत्या स्थानीय तस्करबाटै भएको प्रहरीको निष्कर्ष

असई र जवानको हत्या स्थानीय तस्करबाटै भएको प्रहरीको निष्कर्ष
मृतक असई (बायाँ) र साउद (दायाँ)

अस्थायी प्रहरी चौकी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या स्थानीय तस्करहरुले नै गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको हो।

प्रहरीका अनुसार आइतबार भेटिएको बिकको शव र मंगलबार भेटिएको साउदको शवको प्रकृति हेर्दा घरेलु हतियारको प्रयोग गर्दै बिभत्स ढंगले हत्या गरेको खुलेको हो। 

‘दुबै जनाको घाँटीमा गहिरो चोट छ’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले भने,‘धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ।’

हत्यामा तस्करहरुले फरुवालगायतका घरेलु हतियार प्रहार गरेको अनुमान सिंहले गरे। 

‘उखुबारीमा हत्या गरी दुबै जनाको शव नदीमा फालिएको खुलेको छ’ सिंहले भने,‘हत्यामा स्थानीय तस्कारहरुकै संलग्नता देखिएको छ।’

अनुसन्धान प्रक्रिया साँघुरिदै गएको भन्दै सिंहले चाँडै निष्कर्षमा पुग्ने दाबी गरे।

उनले स्थानीय तस्करहरुसँग जम्काभेट हुँदा उक्त घटना भएको निष्कर्षमा प्रहरी पुगेकोसमेत बताए।

प्रहरीले अनुन्धानका लागि १३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। स्रोतका अनुसार नियन्त्रणमा लिइएका केहीले सामान तस्करीमा रोक लगाएकै कारण प्रहरीको हत्या गरेको बयान दिएको खुलेको छ।

पेस्तो र मोवाइल भेटियो

बेपत्ता प्रहरी जवना साउदको शव भेटिएलगत्तै हराएको पेस्तोल र मोवाइल सेट पनि प्रहरीले फेला पारेको छ। 

कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप देउवाले असई बिकले बोकेको पेस्तोल, साउदले बोकेको मोवाइल सेट तथा घडी फेला परेको जानकारी दिए।

साउदको शव बिकको शव भेटिएको भन्दा करिव दुई सय मिटर उत्तर पश्चिम मोहना नदीमै बालुवाले पुरिएको अवस्थामा मंलबार बिहान फेला परेको हो।

पेस्तोल बिकको शव भेटिएको स्थान नजिकै भेटिएको देउवाले बताए। म्याग्जिन शवसँगै भेटिएको थियो भने पेस्तोलमा प्रयोग हुने सात राउण्ड गोली अझैँ फेलापरेको छैन।

शनिबार राति नियमित गस्तीमा खटिएका बिक र साउदको हत्या भएको थियो।

कात्तिक ४, २०७७ मंगलबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।