माधव नेपालले भने– कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लेऊ

माधव नेपालले भने– कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लेऊ

नेता नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भएको बताएका छन्।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको नेपालको भनाइ छ। 

मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको नेपालले जनाएका छन्।

‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु’ नेपालले भनेका छन्।

सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेको नेना नेपालले औल्याएका छन्।

‘संंकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ’ नेपालले विज्ञिप्तिमा भनेका छन्,‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन।’

गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय भएको नेता नेपालको भनाइ छ। 
 

कात्तिक ४, २०७७ मंगलबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।