बेपत्ता प्रहरी जवान साउदको शव भेटियो
घटना भएको करिव ६० घण्टापछि साउदको शव केहीबेर अघि मोहना नदीमा भेटिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए।
गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए।
बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो।
बिकको शव भेटिएको स्थान भन्दा केही पश्चिमतर्फ साउदको शव भेटिएको बिष्टले बताए।
घटनास्थलमै रहेका कैलाली प्रहरी प्रमुख एसपी दिलिप देउवाले प्रहरी पोषाकमै रहेका साउदको घाटीमा गहिरो चोट देखिएको बताए। ‘शव भर्खरै नदीबाट निकालिएको छ। घाँटीलगायत शरीरका बिभिन्न भागमा चोट देखिन्छ’ देउवाले भने।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले आइतबार बिहान देखि बेपत्ता साउदको खोजीकार्य जारी राखेको थियो।
तस्करहरुको अक्रमणबाट उनीहरुको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।
प्रहरीले अनुसन्धानका लागि १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले प्रहरी घटनाको नजिक पुगेको बताए।
उनले केही व्यक्ति फरार रहेकाले खोजीकार्य जारीरहेको बताए।
कात्तिक ४, २०७७ मंगलबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।