गृह मन्त्रालयले भन्यो- जहाँ छौं त्यही दसैं मनाऔं

गृह मन्त्रालयले भन्यो- जहाँ छौं त्यही दसैं मनाऔं

मन्त्रालयले एक विज्ञप्ति निकालेर तिव्ररूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमणको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिँदै गएको भन्दै यस्तो आग्रह गरिएको हो। 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रवहादुर बुढाले सार्वजनिक गरेको विज्ञप्तिमा ‘कोभिड–१९ को संक्रमण बढ्ने गरी अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला जम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छौ त्यही बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्न र गराउन अनुरोध गरिएको छ।

त्यस्तै मन्त्रालयले दसैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्न निर्देशन जारी गरेको छ। चाडपर्वमा मानिसहरूको आवतजावत बढ्दा संक्रमण बढ्न सक्ने जोखिम रहेकाले मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मिलाउन, सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न, उपभोग्य वस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालोबजारी, कृतिम अभाव, मिसावट, गुणस्तरहीन सामानको बिक्री वितरणबारे नियमित बजार अनुगमन र कारवाहीलाई तिव्र बनाउन समेत सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिईएको छ । 

मन्त्रालयले निर्देशन कार्यान्वयनको लागि २४ सै घण्टा निरन्तर समन्वय तथा अनुगमन हुने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

कात्तिक ३, २०७७ सोमबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।