प्रदेश १ मा थप ८ जना कोरोना संक्रमितको मृत्यु
विराटनगर : प्रदेश १ मा थप ८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ र सुनसरीका चार-चार जना छन्।
आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको हो।
नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र बिराटनगर र न्युरो अस्पतालको कोभिड-१९ अस्पतालमा एक-एक जनाको मृत्यु भएको छ।
न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का ५३ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।
नोबेल मेडिकल कलेजमा उपचाररत मोरङको ग्रामथान गाउँपालिकाका पुरुषको सोमबार बिहान र विराटनगर–३ का ६६ वर्षीय पुरुषको आइतबार राति ११ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजले जनाएको छ।
यसैगरी, विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत संक्रमित एक महिलाको पनि ज्यान गएको छ। विराटनगर-२ की ६० वर्षीया महिलाको सोमबार बिहान ४ बजेतिर मृत्यु भएको हो।
यस्तै, सुनसरीको धरानका ३ र इटहरीको १ जनाको मृत्यु भएको छ। धरान-८ का ६८ वर्षीय पुरुषको आइतबार दिउँसो तथा सोही वडाका पुरुषको सोमबार बिहान मृत्यु भएको हो। यसैगरी, आइतबार साँझ धरान १९ की ७० बर्षीया महिलाको होम आइसोलेसनमै मृत्यु भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा इटहरी-२० का ७८ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
कात्तिक ३, २०७७ सोमबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।