असई हत्याबारे छानबिन गर्न सिआइबीको टोली धनगढीमा
धनगढी : प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्याबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली धनगढी पुगेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी)को नेतृत्वको टोली घटनाबारे छानबिन गर्न सोमबार धनगढी पुगेको हो। एसएसपी सिंहले छानबिन टोलीको नाम खुलाउन नमिल्ने बताए।
यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीले पनि घटनाको छुट्टाछुट्टै रूपमा अनुसन्धान थालेको एसएसपी सिंहले जानकारी दिए।
कैलालीको जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्जसमेत रहेका असई बिक आइतबार बिहान विभत्स हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएका थिए।
घाँटी र गर्धन रेटिएको अवस्थामा उनको शव फेला परेको थियो। घटनाको अघिल्लो दिन गस्तीमा हिँडेका असई बिक केही समयपछि बेपत्ता थिए।
बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ। साउदको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
धनगढीमा प्रदर्शन
असई बिकका हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।
मृतकका आफन्तले हत्यारालाई कारवाहीको दायरामा ल्याउनु पर्ने, मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनु पर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन्।
कात्तिक ३, २०७७ सोमबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।