‘महामारीमा उपचार नगर्ने सरकार किन चाहियो?’
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई तत्काल सच्याउन माग गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महामारीमा उपचार नगर्ने भए किन चाहियो सरकार ? भन्दै प्रश्न गरेका छन्।
कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अत्यन्तै गैह्रजिम्मेवार व्यवहार भएको कांग्रेसको आरोप छ ।
कोरोनाले जनताको आर्थिक जिवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो भन्दै कांग्रेसले कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिएसँगै ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफैं उद्दत रहेको बताएको छ।
संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने कांग्रेसले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको हो। संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन। सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ? भन्ने प्रश्न उब्जिएको छ।’
कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको भन्दै कोरोना परीक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन कांग्रेसले सरकारसँग आग्रह पनि गरेको छ।
सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको पनि जनाएको छ।
कात्तिक ३, २०७७ सोमबार १४:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।