न्याय माग्दै डा. गोविन्द केसी अलायन्स
काठमाडौं ः सोलिडारिटी फर डा. केसी अलाएन्सले मानव अधिकार आयोगको ढोका ढक्ढक्याएको छ। असोज दश गते माइतिघरमा प्रदर्शन गर्दा आफूलाई गैह्र कानुनी रुपमा प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुले न्यायका लागि आयोगको ढोका ढकढक्याएका हुन्।
डा. गोविन्द केसी १९ औं पटक अनसन बसिरहेको अवस्थामा उनको जीवन रक्षाका लागि भन्दै सरकारलाई दबाब दिने उदेश्यले असोज १० गते सोलिडारिटि फर डा. केसी अलाइन्सले माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो।
प्रदर्शनका क्रममा १७ जना अभियन्तालाई गैरकानूनी रुपमा पक्राउ गरेर करिव साढे सात घण्टासम्म राखेको भन्दै अभियान्ताले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेका थिए ।
अभियान्ताले गैह्र कानुनी आफूलाई प्रहरीले पक्राउ गरेर राखेको भन्दै काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र महानगरीय प्रहरी परिसर टेकुका वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली विरुद्ध उजुरी दिएका थिए।
सोलिडारिटी फर डा. केसी अलाएन्सका अभियन्ता पुकार बमले भने,‘न त प्रहरीले हामीलाई पक्रँदा पूर्जी दियो न छोड्दानै।’ बिना कारण आफूहरुलाई पक्राउ गरेकाले प्रमुख जिल्ला अधिकारी र प्रहरी परिसर टेकुका वरिष्ठ उपरिक्षक ज्ञवाली विरुद्ध उजुरी दिएको अभियान्ता बलमे जानकारी दिए । उनीहरुलाई पक्रिएर महेन्द्र पुलिस क्लव राखिएको थियो।
उजुरी राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, सानेपाले हेरीरहेको हुँदा आइतबार अभियान्ताले उजुरिको प्रगतिका बारेमा बुझ्न आयोगको कार्यालय पुगेको अर्का अभियान्ता प्रितम सुवेदीले जानकारी दिए।
उजुरी माथी आयोगबाट छानबिन भईरहेको जानकारी पाएको सुवेदी बताउँछन्। उजुरी परेपछि दाहाल र ज्ञवालीले आयोगमा अभियन्तालाई पक्रनुको प्रस्टिकरण दिएको आफूहरुले आयोगबाट जानकारी पाएको सुवेदी बताउँछन्।
अभियन्ताले दाहाल र ज्ञवालीलाई कार्वाही हुनुपर्ने माग राखेका छन्।अभियन्ता बमले भने,‘हामी अन्यायमा परेका छौं न्याय पाउनुपर्छ।’
कात्तिक २, २०७७ आइतबार २०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।