‘कृषि विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक’ 

‘कृषि विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक’ 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन्।
 

 ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एसिया एण्ड द प्यासिफिक’को अन्तर्राष्ट्रिय साधारणसभालाई आज विद्युतीय माध्यमबाट सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।  

नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको बताउँदै मन्त्री अर्यालले भनिन्, ‘कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापनको आवश्यकता छ। भूउपयोग ऐनमार्फत जमिनको वैज्ञानिक वर्गीकरण र वर्गीकरण अनुसारको भूमिको उपयोगका लागि अगाडि बढेका छौं।’ 

कृषि क्षेत्रको विकासका लागि नेपाल सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै उनले कृषिमा संलग्न साना किसानको जीवन माथि उठाउन साना किसान कृषि सहकारी संस्थामार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि कृषि क्षेत्रको विकासका निम्ति सञ्चालनमा ल्याइएको भन्दै अर्यालले कृषि क्षेत्रको विकासमार्फत विकासका धेरै कामहरु गर्न सकिने विश्वास व्यक्त गरिन्। 

दिगो विकासको अवधारणा अनुरुप राष्ट्रको समृद्धिको लागि भूमि व्यवस्थापनका नीति अगाडि सारिएको भन्दै मन्त्री अर्यालले भू–उपयोग ऐनमार्फत जमिनको वर्गीकरण गरि यसको उपयोग गर्ने योजना निर्माण गरिएको बताइन्। उनले अनौपचारिक भू–सम्बन्धको अन्त्य गर्दै जिविकोपार्जनको अवस्था र बसोबासको स्थितिको आधारमा जग्गाधनी पूर्जा वितरण गरिनेसमेत बताइन्। 

‘लामो समयदेखि रहेको अनौपचारिक भू–सम्बन्धको अन्त्य गर्दै जिविकोपार्जनको अवस्था र बसोवासको स्थिति समेतको आधारमा भूमिहीन, सुकुम्बासीहरुको जग्गाधनी पूर्जा वितरण गरिनेछ’, मन्त्री अर्यालले भनिन, ‘अव्यवस्थितरुपमा रहेको जमिनको व्यवस्थित तथा वैज्ञानिक उपयोग र उत्पादन वृद्धि गर्न नयाँ जमिनको वर्गीकरण गर्ने र वर्गीकरण–अनुसारको उपयोग गर्ने व्यवस्था गरिएको छ।’

सहकारी बजार विकास कार्यक्रममार्फत उत्पादन÷प्रशोधन र बजारीकरणमा विशेष जोड दिइने बताउँदै उनले भूमिको अधिकतम उपयोगका लागि भूमि बैंकको अवधारणा ल्याइएको जानकारी दिइन्।  

कोरोना भाइरस (कोभिड–१९) को महामारीले निम्त्याउने संकटसँग जुध्न वा सामना गर्न कृषिमा विशेष जोड दिन जरुरी रहेको उनको भनाइ छ। 

कात्तिक २, २०७७ आइतबार १४:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।