तस्करी नियन्त्रणमा सक्रिय असईको घाँटी रेटिएको अवस्थामा शव भेटियो
धनगढी : कैलालीको धनगढी–१२ जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोबिन्द बिकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ।
शनिबार राति ड्युटीमा खटिएका बिकको शव धनगढी उपमहानगरपालिका–११ को मोहना नदीमा आइतबार बिहान फेला परेको हो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले केहीबेरमा नदीबाट निकालेको शव टाउको रेटिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
सँगै गएका प्रहरी जवान रामबहादुर साउद भने बेपत्ता छन्।
कैलाली प्रहरी प्रवक्ता एसपी प्रतिक बिष्टले बिकको खुट्टामा पनि चोट लागेको बताए।
बेपत्ता जवानको खोजी भइरहेको उनले बताए। खोजीका लागिका नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी परिचालन गरिएको छ।
असई तस्करी नियन्त्रणमा आक्रामक रूपमा काम गर्दै आएको कैलाली प्रहरीले जनाएको छ।
उनले शुक्रबार मात्रै पनि भन्सार छली ल्याएका सामान बरामद गरेका थिए।
प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले तस्करहरुले नै बिकको हत्या गरेर शव नदीमा फालेको हुन सक्ने बताए।
उनले अनुसन्धान जारी रहेको जानकारी दिए।
कात्तिक २, २०७७ आइतबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।