परीक्षणबिनै भित्रिन्छन् खाद्य पदार्थ
भैरहवा : भारत र तेस्रो मुलुकबाट आयात हुने खाद्य पदार्थ विषादी परीक्षणबिनै भित्रिने गरेको पाइएको छ।
खाद्य पदार्थ आयात गर्दा विषादी प्रयोग भएको छ/छैन भन्ने परीक्षण नै नहुने गरेको पाइएको हो।
उपकरण र कर्मचारीको अभाव जस्ता कारण देखाउँदै सीमा नाकामा स्थापित गुणस्तर नापजाँच कार्यालयहरुले सामान्य लेबलिङ र प्याकेजिङ हेरेर मात्रै गुणस्तर प्रमाणित गर्ने गरेका छन्।
माइक्रोबायोलोजी प्यारामिटरभित्र प्रयोग हुने घातक विषादी भने जाँच हुँदैन। जसले गर्दा अखाद्य पदार्थहरु नेपाल भित्रिरहेका छन्।
भारतलगायत तेस्रो मुलुकबाट खाद्य पदार्थ आयात गर्दा सुरुमा नेपाल सरकारको अनुमति पत्र चाहिन्छ।
आयात गर्ने खाद्यवस्तुको खाद्य आयात–निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले हरेक नमूनाको गुणस्तर परीक्षण गरेर स्वस्थकर प्रमाणित गरेपछि मात्रै भन्सार पास हुने व्यवस्था छ।
खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, रुपन्देहीका प्रमुख दीपक कुँवरले उपलब्ध उपकरणबाट गुणस्तर कार्यालयले अन्न प्रशोधन गरि बनाएका परिकारमा कुल घुलनशील ठोस र एसिडिटी मात्रा, रोग किरा, खाद्यवस्तुको लेबल, ग्रेडिङ अनुसार जलास्म, रिफ्याक्टिभ इन्डेक्स, तेलहनमा एसिडको मान र अपवर्तनी सूचकांक मात्र हेर्ने बताए।
‘यी बाहेक खाद्य पदार्थहरुमा प्रयोग भएको बिषादी, रासायनिक पदार्थ र माइक्रो बायोलोजिकल प्यारामिटरहरु भने परीक्षण गरिँदैन’ कुुवँरले भने,‘यो सुविधा यहाँ छैन।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापनका लागि एक सय २५ वटा खाद्य पदार्थको न्यूनतम मापदण्ड तोकेको छ।
यसैका आधारमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने खाद्यपदार्थको देशका १२ वटा मुख्य भन्सार नाकामा आयात–निर्यातको गुणस्तर प्रमाणीकरण हुन्छ।
आयात गरिएको खाद्य पदार्थ भन्सार कार्यालय परिसरमा भित्रिएपछि भन्सारले प्रत्येक खाद्यपदार्थको नमूना निकाली शील गरेर परीक्षणका लागि गुणस्तर प्रमाणीकरण कार्यालयमा पठाउँछ।
त्यसपछि लेबलिङ, प्याकेजिङ र ब्याच नम्बर लगायत रोग, किरा हेरिन्छ। ब्याक्टेरिया हेरिँदैन। जसले गर्दा नवलपरासी र रुपन्देहीका नाकाबाट आयात गरिने खाद्य पदार्थहरु घातक विषादी परीक्षणबिनै नेपाल भित्र्याइने गरिएको हो।
प्रशोधित खाद्यवस्तु आयात गर्दा वस्तुको नाम, ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मिति, तौल, खाद्युवस्तुमा केके मिसाएर बनाएको हो त्यसको नाम र परिणाम, उद्योगको नाम र ठेगाना प्रस्ट देखिने गरि लेखिएको हुनुपर्छ।
खाद्य नियमावली २०२७ को दफा १८ ले पनि प्याकिङ गरिएका कुनै पनि खाद्यवस्तुको लेबल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। तर, भारतबाट आयात गरिने कतिपय खाद्यपदार्थमा लेबलसमेत कायम गरिएको पाइँदैन।
लेबल कायम गरिएका खाद्यवस्तुको प्याकेजिङ आकर्षक त बनाइएको हुन्छ तर त्यसमा रहेको खाद्यपदार्थ कति गुणस्तर छ भन्ने सबै किसिमको जाँच भन्सार नाकाहरुमा हुँदैन।
‘हामीकहाँ भएको उपकरणले जाँच्न मिल्ने खाद्यवस्तु जाँच गर्छौं, नसक्ने काठमाडौं पठाउँछौं’, खाद्य प्राविधिक पदमराज भुसालले भने। तर अहिले सम्म परीक्षणका लागि काठमाडौं पठाइएको छैन। घातक विषादी प्रयोग छ-छैन भन्ने कुरा हेरेकै भरमा आयात अनुमति दिइन्छ।
नवलपरासीको महेशपुर र बेलहिया नाकाबाट आयात गरिने खाद्यपदार्थको जाँच भैरहवामा हुँदै आएको छ। तर, यहाँ जनशक्ति निकै कम छ।
चारजना खाद्य प्राविधिकको दरबन्दी भएको कार्यालयमा दुईजना मात्रै छन्। ‘दैनिक ५०–६० नमूना जाँच गर्नुपर्छ। दरबन्दीअनुसार कर्मचारी छैनन्’ कुवँरले भने,‘ कम्तिमा ७ जना प्राविधिक भए भने मात्र काम प्रभावकारी हुन्छ।’
चालु आर्थिक वर्षको साउनयता बेलहिया नाकाबाट आयात गरिएका सात वटा मसलाजन्य पदार्थ, धान र चामल अस्वस्थकर प्रमाणित भएका छन्।
१७ मेट्रिक टन मसालजन्य पदार्थ, १३ मेट्रिक टन धान र २० मेट्रिक टन चामल अखाद्य भेटिएको कुँवरले जानकारी दिए।
खासगरी अखाद्यवस्तु मिसावट र लेबलिङको समस्या भारतबाट आयात गरिने चामल, चिल्ली पाउडर, अदुवा र खुर्सानीको धुलो, जिरा, धनिया, मिट मसला, किसमिस लगायत स्पाइसिस खाद्यवस्तुमा बढी छ।
अखाद्य भेटिएका मसलाजन्य र धान, चामल उपकरणको प्रयोग नगरि आँखाले हेरेरै अखाद्य भेटिएको हो।
उपभोक्ता हित संरक्षण मंच, सिद्धार्थनगरका अध्यक्ष नरेन्द्र भण्डारीले कुनै पनि बहानामा विषादी जाँचलाई फितलो गर्न नहुँने बताए।
सरकारले जनशक्ति र उपकरण थप गरेर भए पनि सबै किसिमका विषादी जाँच गरेर मात्रै खाद्यपदार्थ आयात गर्नुपर्ने उनको भनाइ छ।
‘जनस्वास्थ्यभन्दा अरु ठूलो केही हुनै सक्दैन। यस्ता विषयमा सरकार जिम्मेवार बन्नुपर्छ’ उनले भने।
कात्तिक २, २०७७ आइतबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।