धनगढीमा असईको हत्या, जवान बेपत्ता

धनगढीमा असईको हत्या, जवान बेपत्ता

धनगढी :  कैलालीमा शनिबार राति एक जना प्रहरी सहायक निरीक्षक (असई)को हत्या भएको छ। एक प्रहरी जवान बेपत्ता छन्।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई गोविन्द बिकको हत्या भएको प्रहरीले जनाएको छ। सोही चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन्।

बिकको शव मोहना नदीमा डुवेको अवस्थामा भेटिएको छ भने साउदको अवस्था अज्ञात रहेको सुदूरपश्चिम प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए।

सिंहका अनुसार दुई जना शनिबार राति ८ बजेको समयमा मोटरसाइकलमा गस्तीमा निस्केका थिए।

राति अबेरसम्म सम्पर्कमा नआएपछि खोजी गर्दा आइतबार बिहान बिकको शव नदीमा डुबेको अवस्थामा भेटिएको सिंहले जानकारी दिए।

उनीहरू चढेको मोटरसाइकल प्रहरी चौकीदेखि करिव साढे २ किलोमिटरको दुरीमा भेटिएको छ।

‘शरीर हेर्दा नदीमा डुबेको शव असई बिकको जस्तो देखिन्छ। शव निकाल्न आधा घण्टा लाग्छ’ सिंहले भने,‘हत्यामा कुनै आशंका छैन। तर, कसले कसरी गर्यो भन्ने खुलेको छैन।’ 

मोहना नदीले कैलालीको नेपाल–भारत सीमा छुट्याउँछ। 

तस्करहरूले रातको समयमा भन्सार छली गरेर सामानहरु भित्र्याउने गर्छन्। एक दिनअघि मात्रै प्रहरी चौकी, जुगेडाले भन्सार छलि गरेर भारतबाट तस्करहरूले भित्र्याउँदै गरेको सूर्ती लगायतका अबैध सामान बरामद गरेको थियो।

रातको ममय भएकाले तस्करहरूबाट नै हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले आफै घटनास्थल पुगेर अनुसन्धान थालेका छन्।

कात्तिक २, २०७७ आइतबार ११:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।