उदयपुरमा स्कारपियो दुर्घटना, पाँचको मृत्यु
काठमाडौं : उदयपुरको भदौरेमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश गौतमका अनुसार मृतकमध्ये दुई जनाको सनाखत भएको छ। जसमा मानेभञ्ज्याङ जापा ९, माधवपुर बस्ने अन्दाजी ४५ वर्षीय रामबहादुर सार्की र सोही स्थानका अन्दाजी २६ वर्षीय कर्मे सार्की छन्। अन्य तीन जनामध्ये एक महिला र दुई पुरुष छन्।
कटारी नगरपालिका १४, भदौरेस्थित सिद्धिचरण राजमार्गमा रूपन्देहीको भैरहवाबाट ओखलढुंगा जादै गरेको बा२०च ७१७१ नम्बरको स्कारपियो हिजो राति १ बजे दुर्घटना भएको हो। स्कारपियो सडकबाट करिब १ किलोमिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि चालकसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते हुनेमा रुपन्देही, श्रीदम्बा १५ का २८ वर्षीय गाडी चालक पवन खड्का, ओखलढुंगाकी १८ वर्षीया कल्पना सार्की र सोही स्थानकी कुमारी सार्की छन्। उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीको टोलीले घाइतेको उद्धार गरि अस्पताल पुर्याएको थियो। घाइतेमध्ये चालकको अवस्था गम्भीर छ भने अन्य दुई जनाको मध्यम रहेको प्रहरीले जनाएको छ।
ब्रेक फेल भएर स्कारिपयो दुर्घटना भएको हुन सक्ने बताइएको छ।
कात्तिक २, २०७७ आइतबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।