वीरगञ्जमा एकै घरबाट २३ किलोभन्दा बढी सुन बरामद
प्रहरीले वीरगञ्ज महानगरपालिका ५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट शनिबार उक्त सुन र चाँदी बरामद गरेको हो।
भारतीय नागरिक अशोक सिन्हाको भनिएको उक्त अपार्टमेन्टमा छापा मारेर प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद गरेको जनाएको छ।
पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले ६८१ ग्राम बराबरका सुनका गहनासमेत बरामद गरेको जानकारी दिइन्। यस्तै, २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुडासमेत बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले सुनबारे केही दिनदेखि निगरानी गरिरहेको पन्तले बताए।
उनका अनुसार सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी रातभर निगरानीमा थियो। मालिक नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खोलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको पन्तले जानकारी दिइन्।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १, २०७७ शनिबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।