सम्पदा संरक्षणमा नगर प्रहरीको तीन घण्टे अभियान

सम्पदा संरक्षणमा नगर प्रहरीको तीन घण्टे अभियान

ललितपुरको नगर प्रहरीले सम्पदा संरक्षणको लागि वातावरणमैत्री अभियान सुरु गरेको हो। 

प्राचीन र ऐतिहासिक नगर क्षेत्रका सम्पदा संरक्षण अभावमा कुरुप र महत्त्व हराउन थालेपछि अभियान सुरु गरिएको महानगरले जनाएको छ।

नगर प्रहरी प्रमुख सीताराम हाथेछुले नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशन अनुसार विशेष अभियानको सुरुवात गरेको बताए।

शुक्रबारबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणमा नगरपालिका कार्यालय अगाडि रहेको पाटीको सरसफाइ गरि अतिक्रमण र पार्किङ हटाइएको छ।

हाथेछुका अनुसार यो अभियान दैनिकरुपमा बिहान साढे ६ देखि साढे ९ बजेसम्म चल्छ।

‘बिहान दैनिक तीन घण्टा एक सम्पदाको खोजी गरि त्यसको सरसफाइ गर्ने, अतिक्रमण हटाउने र निरन्तर संरक्षणको काम हुनेछ,’ हाथेछु भन्छन्। 

सम्पदा क्षेत्रका अतिक्रमण हटाउने, पार्किङ निषेध गर्ने, सम्पदा क्षेत्रका बाटो र जग्गा अतिक्रमणबारे पत्ता लगाउने, जीर्ण अवस्थामा रहेका सम्पदाबारे नगरपालिकालाई जानकारी दिइन्छ।

यससँगै सम्पदाबारे वडावडामा पुगेर स्थानीय, जनप्रतिनिधि र जानकारहरुसँग जानकारी लिने क्रम सुरु भएको छ।

पुराना इनार, ढुंगेधारा, सत्तल, पाटी, पौवा, पोखरी, मन्दिरलगायतका विषयमा जानकारी लिएर तिनको संरक्षण गर्ने, पार्किङ हटाउने, अतिक्रमण हटाउने काम सुरु गरिएको हाथेछुले बताए। सम्पदालाई आफ्नो सम्पत्ति बनाएर व्यापार व्यवासाय गर्ने, भाडामा लगाउने र आफ्नो कामका लागि प्रयोग गर्दै आइरहेको पाइएको उनले सुनाए।

असोज ३०, २०७७ शुक्रबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।