प्रहरी अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

प्रहरी अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

काठमाडौं : नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा सुरु भएको छ। ६५औं प्रहरी दिवसको उपलक्ष्यमा संचालनमा ल्याइएको टेलिमेडिसिन सेवाको एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन्।
 

कार्यक्रममा क्षेत्रीले विभिन्न सेवामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्दै टेलिमेडिसिन सेवा अहिलेको परिवेशमा निकै सन्दर्भिक रहेको तथा दूर दराजमा भएका प्रहरी कर्मचारीहरुले अस्पतालको सेवा प्राप्त गरी लाभान्वित हुने उल्लेख गरे। 

प्रारम्भमा परामर्शको सेवा प्रदान गर्ने रुपमा संचालन हुने टेलिमेडिसिन सेवालाई आगामी दिनमा थप परिस्कृत गरेर औषधि पनि वितरण गर्न सक्ने प्रणालीमा विकास गर्न सकेमा प्रहरी कर्मचारीहरु अझ बढी लाभान्वित हुने उनले बताए

कोभिड–१९ भाइरसबाट सिर्जित विषम परिस्थितिमा नेपाल प्रहरी अस्पतालबाट भएको उपचारलगायत विविध क्रियाकलापको प्रशंसा गर्दै उनले अस्पतालका सेवाग्राहीप्रति शिष्ट व्यवहारका साथ प्रस्तुत हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।   

कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले टेलिमेडिसिन सेवाबारे प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ई–हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिन लगायत अन्य आधुनिक प्रविधिको विकास, विस्तार तथा नियमन गर्ने ब्यवस्था भए अनुरुप सेवा संचालन गरिएको जानकारी दिईन।

असोज ३०, २०७७ शुक्रबार १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।