कोरोना संक्रमितलाई परीक्षा दिनबाट नरोक्न सर्वोच्चको आदेश

कोरोना संक्रमितलाई परीक्षा दिनबाट नरोक्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले कोरोना संक्रमितलाई परीक्षामा सहभागी हुनबाट नरोक्न लोकसेवा आयोगका नाममा अन्तरिम आदेश दिएको छ। 
आयोगले जारी गरेको परीक्षा मापदण्डमा कोरोना संक्रमित प्रतिस्पर्धी परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ। 

त्यसविरुद्ध अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश दिएको हो। 

आदेशमा आयोगलाई परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न भनिएको छ। 

सम्पूर्ण परीक्षार्थी तथा कर्मचारीलाई अपूरणीय क्षति हुने हुँदा सुविधा सन्तुलनको दृष्टिकोणले समेत प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८९१० को कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले आदेश गरेको हो।

‘सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्ने गर्नु तथा स्वघोषित संक्रमित व्यक्तिलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न व्यवस्था गर्न भनी आन्तरिम आदेश जारी गरिदिएको छ’ अन्तरिम आदेशमा भनिएको छ। 

सर्वोच्चले आदेश कार्यान्वयनका लागि यसको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीलाई दिन पनि आदेश दिएको छ। 

असोज २९, २०७७ बिहीबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।