प्रहरीको सुटबुटमा सञ्चार सेट बोक्दै, व्यापारी ठग्दै

प्रहरीको सुटबुटमा सञ्चार सेट बोक्दै, व्यापारी ठग्दै

काठमाडौं : प्रहरीको नाममा राजधानी काठमाडौंका रात्रिकालिन व्यवसायीहरुलाई ठगी गर्दै हिँड्ने एक युवकलाई प्रहरीले सञ्चार सेटसहित पक्राउ गरेको हो। 

नक्कली प्रहरी बनेर ठगी गर्ने रामेछाप खाँडादेबी–६ घर भई टोखा नगरपालिका बाँनियाटार बस्ने २८ वर्षीय गोबिन्द खड्कालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। 
 

खड्काले प्रहरीको जस्तो देखिने सञ्चार सेट (वाकिटकी) बोकेर रातको समयमा प्रहरी हुँ भन्दै व्यापारीहरुलाई धम्काएर आर्थिक लाभ लिने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। 

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार खड्काको साथबाट दुई वटा सञ्चार सेट, प्रहरीको पोषाक, बुट नेमप्लेटलगायतका सामग्री बरामद गरिएको छ।

दुई वर्ष देखि खड्काले उक्त सञ्चार सेटहरु बोकी रातको समयमा व्यापारीहरुलाई धम्काएर आर्थिक लाभ लिँदै आएको खुलेको कार्कीले जानकारी दिए।

हार्डवेयर सामान डेलिभरी गर्ने खड्काको साथबाट बा ७८ प १६२ नं. को मोटरसाइकल ४ थान मोवाइलसमेत बरामद गरेको प्रहरीले जनाएको छ। उनको साथबाट नेपाल प्रहरी र नेपाली सेनाको पोषाकसमेत बरामद गरिएको छ। 

कार्कीका अनुसार खड्काले बोक्ने उक्त सञ्चार सेटहरु सन् २०१४ जनवरीमा सगरमाथा आरोहण गर्न आएका विदेशी पर्यटकहरुको हो।

‘पर्यटकले सगरमाथा आरोहण गर्दा उक्त सञ्चार सेट खाना बनाउने र चालक काम गर्ने नेपालीलाई दिएछन्’ कार्कीले भने,‘पर्यटकको मृत्यु भएपछि सञ्चार सेट खड्काको हातमा परेर उनले दुरुपयोग गरेको देखियो।’

उक्त सञ्चार सेटले प्रहरीलगायत एयरपोर्टको ग्राउड होल्डिङको आवाज रिसिभ गर्ने गरेको कार्कीले बताए।

खड्काले थुप्रैलाई ठगी गरेको आशंका प्रहरीले गरेको छ। उनीबाट ठगीमा परेकाहरुले सम्पर्क गर्नसमेत प्रहरीले भनेको छ। 

उनलाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ। 

 

असोज २९, २०७७ बिहीबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।