श्रमिकलाई २० करोड रुपैयाँ सहायता
काठमाडौ : विदेशमा मृत्यु, अंगभंग र बिरामी भएका श्रमिकलाई सरकारले डेढ महिनाको अवधिमा २० करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ।
सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र बिरामी भएका सहित ५ सय १५ श्रमिक तथा उनीहरुका आफन्तलाई २० करोड बढी रुपैयाँ सहायता वितरण गरेको हो।
भदौ र असोजको मध्यसम्म वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले मृत्यु भएका २ सय ८९ श्रमिकका नातेदारलाई १८ करोड २६ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको बैदेशिक रोजगार बोर्डले जनाएको छ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले मृतक कामदारका परिवारलाई सहायता, अंगभंग,गम्भीर विरामी र शव ढुवानीसहित २० करोड १३ लाख रुपैया वितरण गरेको जानकारी दिए।
विगतमा प्रतिमहिना औषत ६० नेपाली मृतकलाई आर्थिक सहायता गरिरहेको बोर्डले लकडाउनका कारण विदेशमा शव रोकिएपछि डेढ महिनामा मात्रै २ सय ८९ मृतकका परिवारलाई आर्थिक सहायता वितरण गरेको जनाएको छ।
लकडाउनमा ५ महिना हवाई सेवा बन्द हुँदा नेपाल ल्याउन नसकेका शव एकै पटक आएपछि सहायता लिने आफन्तको संख्या एक्कासी बढेको बोर्डले जनाएको छ।
अंगभंग र गम्भीर घाईते भएका २३ नेपाली श्रमिकलाई १ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए।
वैदेशिक रोजगार नियमावली अनुसार श्रम स्वीकृतीको अवधी समाप्त भएको १ वर्ष भित्र विदेशमा मृत्यु भएका नेपालीलाई जनही ७ लाख रुपैयाँ आर्थिक सहायता दिने व्यवस्था छ।
यसैगरी विदेशमा अंगभंग र गम्भीर बिरामी भई स्वदेश फर्केका श्रमिकलाई उनीहरुको स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा अधिकतम ७ लाख रुपैया दिने व्यवस्था छ।
यो अवधिमा मृतक मध्ये २ सय ३ जना नेपालीको शव घरसम्म ढुवानी गरिएको छ। त्यसका लागि सरकारले ४२ लाख रुपैयाँ खर्च गरेको जनाएको छ।
बोर्डले लकडाउनपछि हालसम्म ३ सय ७७ नेपालीको शव ढुवानी गरेको छ भने कोरोना लगायतका कारण विदेशमा मृत्यु भएका २ सय २३ नेपालीको शव परिवारको सहमतिमा समन्धित श्रम गन्तव्यमा नै अन्त्यष्टि गरिएको छ।
बोर्डले नियमावली अनुसार तोकिएका मृतक श्रमिकका आफन्तलाईमात्र आर्थिक सहायता गर्ने गरेको छ।
श्रम स्वीकृती अवधि बाहेकको अवस्थामा मृत्यु भएका श्रमिकका आफन्तले भने आर्थिक सहायता पाउँदैनन्।
बोर्डका अनुसार बिदेशमा मृत्यु भएका भएका मध्ये ९५ नेपालीको शव भने नेपाल ल्याउन बाँकी छ।
असोज २९, २०७७ बिहीबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।