कार्तिक १ गतेबाट दसैं बिदा दिन सचिवको सुझाव

कार्तिक १ गतेबाट दसैं बिदा दिन सचिवको सुझाव

काठमाडौं : मन्त्रालयका सचिवहरुले घटस्थापनाको दिनबाट नै दसैं बिदा गर्न सरकारलाई सुझाव दिएका छन्।
 

उनीहरुले कोरोना भाइरसको बढ्दो जोखिमका कारण दसैं बिदा घटस्थापनाबाट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुझाव दिएका हुन् ।

विभिन्न मन्त्रालयका सचिवहरुले मुख्यसचिव शङ्करदास वैरागीलाई भेटेर कार्तिक १ गतेबाट नै दसैंको बिदा दिन सुझाव दिएका हुन्। 

पछिल्लो समय सरकारी कार्यालयमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सचिवहरुले १ गतेबाट बिदा दिए कोरोना संक्रमण नियन्त्रणमा केही सहयोग पुग्ने सुझाव दिएको शिक्षा सचिव गोपिनाथ मैनालीले बताए।

‘घटस्थापना देखि पुर्णिमा सम्म बिदा दिँदा १५ दिनको अवधिमा प्राय मानिस बाहिर नहिड्ने भएकाले कोरोना संक्रमणको एक प्रकारको चक्र ब्रेक हुन्छ’ मैनालीले भने,‘यसबाट कोरोना नियन्त्रणमा निकै सहयोग पुग्छ।’
उनले महत्वपूर्ण सेवा प्रवाहमा असर नपर्ने गरी न्यून कर्मचारी मात्र राखेर कार्यालय खोल्ने गरी बाँकीलाई बिदा दिन सुझाव दिएको बताए।

सरकारले फूलपातीबाट दशैं बिदा दिँदै आएको थियो। यो वर्षको घटस्थापना कात्तिक १ गते रहेको छ भने फूलपाती ७ गते छ। 
सरकारले फूलपातीदेखि त्रयोदसीसम्म बिदा दिँदै आएको थियो।

नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर तिव्रगतिमा फैलिरहेको छ। 

दसैं नजिकिँदै जाँदा उपत्यकाका प्राय सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिती पनि पातलिँदै गएको कर्मचारीहरु बताउछन्।
 

असोज २९, २०७७ बिहीबार ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।