मन्त्रीपरिषद् पुनर्गठन, विष्णु पौडेललाई अर्थको जिम्मेवारी

मन्त्रीपरिषद् पुनर्गठन, विष्णु पौडेललाई अर्थको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन्। 

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रिपरिषद्मा तीन नयाँ अनुहार थपिएका छन्, जसमध्ये विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ। 

यस्तै, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

यसैगरी, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। उक्त मन्त्रालय प्रधानमन्त्री ओलीले आफैसँग राखेका छन्। 

पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी तोकिएको छ। 

यसअघिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनको ठाउँमा लीलानाथ श्रेष्ठलाई ल्याइएको छ। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

असोज २८, २०७७ बुधबार १९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।