सर्लाहीमा झडप, डिएसपीसहित ३८ घाइते

सर्लाहीमा झडप, डिएसपीसहित ३८ घाइते

जनकपुरधाम : प्रहरीले हत्याको छानबिन नगरेको भन्दै सर्लाहीको मंगलवामा प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ।

झडपमा परि दुवै पक्षका ३८ जना घाइते भएका छन्। 

घटनामा प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवर र उद्धवसिंह भाटसहित २२ जना सुरक्षाकर्मी तथा १५÷१६ जना प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक कुँवरले घटनालाई नियन्त्रणमा लिन ३१ राउन्ड अश्रु ग्यास प्रहार गरिएको जानकारी दिए। 

यस्तै, प्रदर्शनकारीले ढुंगामुडा प्रहार गरेका थिए। 

रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको भन्दै प्रदर्शनकारीले नाराबाजी गरेपछि झडप भएको हो।

कांग्रेस सांसद अमरेश सिंहको नेतृत्वमा प्रदर्शन भएको थियो। 

झडपमा परि घाइते भएकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घाइतेहरूको सर्लाहीको जिल्ला अस्पताल तथा स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

कांग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्र रायका अनुसार १३ जना पार्टी कार्यकर्ता घाइते भएका छन्, तीमध्ये १२ को अवस्था गम्भीर छ। 
ढुंगामुढा गरेको आरोपमा प्रहरीले तीन प्रदर्शनकारीलाई समेत नियन्त्रणमा लिएको छ। 

गत २१ असोजमा बारीमा घिरौँला टिपेको विषयमा स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा घाइते ६५ वर्षीय महेन्द्र रामको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा मृत्यु भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए। 

मृतक रामका आफन्त र स्थानीयले अन्य ९ जनासमेत घटनामा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरिरहेको छ। 

पीडित परिवारले मृतकलाई शहिद घोषणा, क्षतिपूर्ति र दोषीलाई कडा कारबाहीको माग गर्दै आएको छ।  
 

असोज २८, २०७७ बुधबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।