दशकपछि पूरा भएको बझाङवासीको धोको 

दशकपछि पूरा भएको बझाङवासीको धोको 
धनगढीबाट बझाङको देवल विमानस्थल अवतरण गरेको समिट एयरको विमान।

धनगढी : गत मंगलबार समिट एयरको विमान हुँदै धनगढीबाट बझाङ पुगेका स्थानीय प्रकाश सिंह निकै उत्साहित देखिन्थे। 

यसअघि बसमा घण्टौंको यात्रा गरि बझाङ पुग्ने गरेका उनी २५ मिनेटमै धनगढीबाट गृह जिल्लामा पुगेपछि उत्साहित भएका हुन्। 

‘बसको यात्रा निकै झण्झटिलो र जोखिमपूर्ण थियो,’ उनी भन्छन्, ‘हवाई सेवा सुरु भएपछि यात्रा सहज हुने भयो।’ 

पहिलो पटक जहाजमा धनगढीबाट बझाङ पुगेका अर्का यात्रु विराटसिंह कठायत बझाङवासीको जहाज चढ्ने धोको दशकपछि पूरा भएको बताउँछन्। ‘धनगढी–बझाङ हवाई सेवा सुरु भएपछि जिल्लावासी खुसी भएका छन्,’ उनले भने। 

उनीहरू मात्र होइनन्, धनगढीबाट बझाङमा हवाई सेवा सुरु भएपछि जिल्लावासी उत्साहित भएका छन्। 

दशकयता बन्द रहेको बझाङ विमानस्थल कालोपत्रे भएपछि मंगलबारबाट हवाई सेवा सञ्चालन भएको हो। समिट एयरको विमानले मंगलबार धनगढीबाट १८ जना यात्रु लिएर बझाङ पुगेको थियो। 

उक्त रुटमा हप्ताको दुई दिन हवाई सेवा सञ्चालन गरिने समिट एयरले जनाएको छ। 

बझाङ विमानस्थल प्रमुख मोहन गिरीले मंगलबारदेखि नियमित उडान सुरु भएको बताए। नियमित उडान सुरु भएपछि बिरामीलाई समयमै अस्पताल पुर्याउन सहज हुने उनको भनाइ छ। 

पहिलो पटक जहाज लिएर बझाङ पुगेका समिट एयरका पाइलट युग ढुंगानाले मौसम सफा रहे नियमित उडान गर्न सकिने बताए। 

‘भाडादर महँगो भयो’

बझाङमा हवाई सेवा सञ्चालन भए पनि यात्रुले भाडादर महँगो भएको गुनासो गरेका छन्। 

समिट एयरले धनगढी–बझाङको भाडादर ५ हजार ४८ रूपैयाँ तोकेको छ। ‘यो भाडादर अलि महँगो भयो,’ कठायतले भने। 

पर्यटनमा टेवा पुग्ने आशा 

हवाई सेवा सुरु भएसँगै यहाँको पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन्। 

जिल्लाभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज, गोर्खाली मालिका गुफा (कैलाश गुफा), गुरेइल झरना, साइपाल हिमाल, सुमासरोवलगायत पर्यटकीय क्षेत्रमा पर्यटक बढ्ने व्यवसायीले आशा व्यक्त गरेका छन्। 

असोज २८, २०७७ बुधबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।