बिनाधितो कर्जा लिँदै, व्यवसाय गर्दै
भैरहवा : बुटवल सुख्खानगरमा रहेको श्रेया मार्टकी सञ्चालक लक्ष्मी केसी सात वर्षअघि छोराछोरीलाई लिएर अर्घाखाँचीबाट बुटवल आइन्।
त्यतिबेला उनका पति वैदेशिक रोजगारीमा थिए। पति विदेशबाट फर्किए। त्यसपछि उनले पतिले कमाएको पैसामा थपेर किराना पसल सञ्चालन गर्ने योजना बनाइन्।
ऋण लिन बैंक पुग्दा धितो मागियो। तर, उनीसँग धितो थिएन। धितो नपाएपछि आफ्नो योजना सफल नहुने चिन्तामा रहेकी लक्ष्मीलाई लक्ष्मीले आफन्त र साथीहरूले कृषि विकास बैंकमा बिनाधितो ऋण पाइने जानकारी गराए। त्यसपछि उनले ऋण लिने प्रक्रिया थालिन्। र, १० लाख रूपैयाँ ऋण लिइन्।
त्यसपछि उनी किराना पसल सञ्चालन गरेर बसेकी छन्। किराना पसलबाट राम्रै आम्दानी भइरहेको उनी बताउँछिन्।
‘ऋण कहाँबाट लिने होला भन्ने टेन्सन थियो। आफन्तले बिनाधितो ऋण पाइने जानकारी दिएपछि ऋण लिए र व्यवसाय गरेँ,’ उनले भनिन्, ‘केही गर्छु भन्नेलाई सरकारले धेरै सुविधा दिएको छ।’
उनले केही गरौं भन्ने सोच र जाँगर भएकालाई अवसर भएको सुनाइन्। भनिन्, ‘महिलाहरू गृहिणी भएर मात्रै बस्नुभन्दा केही न केही उद्यम गर्नु पर्छ। आत्मनिर्भर बन्नतर्फ लाग्नु पर्छ। आँट भए पैसाको अभाव हुने रहेन छ,’ उनले भनिन्।
बाग्लुङबाट आएर तिलोत्तमा नगरपालिकामा भैंसीपालन व्यवसाय गरिरहेका गणेशबहादुर न्यौपानेले ऋण लिन विभिन्न बैंक धाए। कतैबाट बिनाधितो ऋण नपाएपछि आफन्तको सल्लाहअनुसार कृषि बैंकमा गई १० लाख रूपैयाँ ऋण लिएर भैंँसी थपे।
अहिले उनको फार्ममा ११ भैंसी र ३ वटा गाई छन्।
अहिले आम्दानी पनि बढेको उनी बताउँछन्। भन्छन्, ‘प्राइभेट बैंकमा सवसिटी छैन, व्यवसाय बढाउन चाहेँ तर मसँग लिजमा लिएको फार्मबाहेक अरु धितो राख्ने केही थिएन। प्राइभेट बैंकले ऋण दिएनन्, कृषिले दियो।’ भैंसी थप गरेपछि आम्दानी बढेको उनी सुनाउँछन्।
बुटवल उपमहानगरपालिका–५, अमरपथस्थित डिजी टेलरिङ सेन्टरका सञ्चालक सीता सुनाम र उनका पति बुद्धले सिलाइकटाई व्यवसाय गर्छन्।
सिलाइकटाईबाट पारिवारिक खर्च मात्रै चलाउँदै आएका दम्पतीले सिलाइ मेसिन थपेर व्यवसायलाई ठूलो गराउन खोजे। तर, थप लगानी र धितो राख्ने केही नहुँदा समस्या पर्याे। सुकुम्बासीमा रहेको जमिनको लालपूर्जा नहुँदा बैंकले धितो लिँदैन।
छिमेकी र साथीहरूबाट कृषि विकास बैंकले बिनाधितो कर्जा दिइरहेको जानकारी पाएपछि सीताले ७ लाख रूपैयाँ ऋण लिइन्। र, ४ वटा सिलाइ मेसिन थप गरिन्।
अहिले व्यवसायलाई ठूलो बनाएकी छन्। अहिले भने, ‘आम्दानी राम्रो हुन थालेको छ,’ भन्छिन्, ‘धितो नहुँदा व्यवसाय थप ठूलो गराउन सकिएको थिएन। हाम्रो साथी कृषि विकास बैंक बन्यो। अहिले व्यवसाय राम्रो छ। कोरोनाले डिस्टर्व गरे पनि पहिलेभन्दा धेरै चलेको छ। ४/५ जनालाई रोजगारी पनि दिएका छौं।’
धितो नभएका र केही गर्छु भन्नेका लागि धेरै अवसर भएको केसी र न्यौपानेको अनुभव छ। खाली बस्नुभन्दा केही न केही उद्यमसँग जोडिन उनीहरू आग्रह गर्छन्।
सुनाम, केसी र न्यौपाने प्रतिनिधि पात्र मात्रै हुन्। बिनाधितो ऋण लिएर उनीहरूजस्ता धेरै जना उद्यमी बनेका छन्। सरकारले २०७३ सालबाट बिनाधितो ऋण दिन सुरु गरेको हो। सुरुका वर्षमा कार्यान्वयन फितलो भए पनि अहिले भने कार्यान्वयन हुन थालेको छ।
कृषि विकास बैंकले महिलालाई १५ र अन्यलाई १० लाख रूपैयाँसम्म बिनाधितो ऋण प्रवाह गर्दै आएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत साविक लुम्बिनी अञ्चलमा पर्ने ६ जिल्लाका १४२ जना मानिसले कृषि विकास बैंकबाट विनाधितो ऋण लिएर उद्यम गरिरहेका छन्।
लगानी जोखिम देखेपछि निजी बैंकहरूले बिनाधितो ऋण दिन आनाकानी गर्छन्।
नेपाल राष्ट्र बैंकले सरकारी र निजी सबै बैंकलाई बिनाधितो ऋण दिन निर्देशन गरेको छ।
लगानी जोखिमबीच पनि बैंकले उद्यम गर्न चाहनेहरूको योजना बुझेर ऋण दिने गरेको कृषि बैंक प्रादेशिक कार्यालय, भैरहवाका निर्देशक चन्द्रसिंह थापा बताउँछन्।
‘लगानी जोखिम उत्तिकै हुन्छ। तर, हामीले ऋण लिन आउनेको वास्तविक अवस्था बुझेर लगानी गर्छौं, धेरै जना यहाँबाट बिनाधितो ऋण लिएर उद्यम गर्नुभएको छ। उहाँहरूको प्रगति हेर्दा निकै खुसी लाग्छ,’ उनले भने।
बिनाधितो ऋण लिन धितो राख्ने केही नभएको, केमा लगानी गर्ने हो, त्यसको विस्तृत विवरण र वडाको सिफारिस चाहिन्छ।
कृषि बैंक प्रादेशिक कार्यालयका अनुसार साविक लुम्बिनी अञ्चलका ६ जिल्लाका शाखाबाट बिनाधितो ऋण लिएकाले उद्यम गरी मनग्ये आम्दानी गर्दै आएका छन्।
निजी बैंकले पनि सहजै बिनाधितो ऋण दिने हो भने केही गर्छु भन्ने अठोट र योजना भएका कोही पनि व्यक्ति यत्तिकै खाली बस्न पर्दैन। बरु विनाधितो ऋणबारे जानकारी भएकाले थाहा नभएकालाई सहयोग गर्नु पर्ने केसी बताउँछिन्।
असोज २८, २०७७ बुधबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।