कांग्रेसको प्रश्न- हजार बेडको अस्पताल खै ? 

कांग्रेसको प्रश्न- हजार बेडको अस्पताल खै ? 

विराटनगर : प्रदेश १ को प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले सरकारले निर्माण गर्ने भनेको १ हजार बेडको कोभिड अस्पताल कहाँ छ भन्दै प्रश्न गरेको छ। 
 

प्रदेश १ को सरकारले १ हजार बेडको कोभिड अस्पताल एक महिना भित्र विराटनगरमा निर्माण गर्ने घोषणा गरेपनि दुई महिना वितिसक्दासमेत सुरसार नगरेपछि प्रतिपक्षी दलले अस्पताल कहाँ छ भन्दै सरकारलाई प्रश्न गरेको हो। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्याले दिनहुँ रेकर्ड कायम गरिरहेपनि सरकारले अस्पताल निर्माणमा ध्यान नदिएको प्रतिपक्षदलको आरोप छ। 

प्रतिपक्षदल नेपाली कांग्रेसले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी १५ दिन भित्र १ हजार बेडको भेन्टिलेटरसहितको कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ। 

प्रतिपक्ष दलका संसदीय दलका नेता राजिव कोइरालाले लकडाउनको अवधिमा प्रदेश सरकारले कोभिड अस्पताल निर्माणको अवसर चुकाएको बताए। 

कोइरालाले स्थानीय तह देखि जिल्ला, प्रदेश र केन्द्रसम्म रहेको विपद् व्यवस्थापन समितिलाई सक्रिय नपारेर अनेक खालका समिति बनाएर सरकार अलमलिइरहेको  बताए।

कोरोना महामारी अनियन्त्रित हुँदा सबै अस्पतालका आइसियु बेड विरामीले भरिसकेको भन्दै कोइरालाले दैनिक संक्रमितको संख्या बढिरहे पनि  राज्य उदासिन भएको कोइरालाको आरोप छ। 

‘आइसियु वेड खाली नहुँदा उपचार नपाएर विरामी मरिरहे पनि राज्यले  नागरिकको उपचारमा वेवास्था गरिरहेको छ’ कोइरालाले भने।

‘एक हजार बेडको कोभिड अस्पताल खै कहाँ छ ?’ प्रमुख सचेतक केदार कार्कीले भने,‘कोभिडका विरामी घरमै छटपटाएर मर्न बाध्यछन्। तर, प्रदेश सरकारले मानविय संवेदना र करुणा नै देखाएन।’

कार्कीले अनपेक्षित रूपमा संक्रमितको संख्या बढिरहे पनि कार्यक्रम, समारोह,  हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको बताए। 

‘प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव छैन’ कार्कीले भने,‘कार्यशैली, कार्यक्षमता र योग्यताको अभाव देखिएको छ।’ 

कार्कीले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिगे्रको र कोसी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेको जानकारी गराए।

कमसल भेन्टिलेटर खरिद गरेर भ्रष्टाचार गरैकै कारण सरकारी अस्पतालका भेन्टिलेटर चाँडै बिग्रिएको कार्कीको आरोप छ।

कोरोना नियन्त्रणका काममा भएको भ्रष्टाचारको छानविन गर्नसमेत सम्बन्धित निकायलाई प्रमुख सचेतक कार्कीले माग गरेका छन्। 

प्रदेश १ को सरकारले गत साउनमा एक महिना भित्र १ हजार वेडको कोभिड अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। 

अस्पताल निर्माणका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिए पनि अझैसम्म अस्पताल निर्माण प्रकृया नै सुरू भएको छैन। 
 

असोज २७, २०७७ मंगलबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।