जग्गा हेर्ने बहानामा हत्या गर्ने तीन पक्राउ
काठमाडौं : जग्गा हेर्ने बहानामा भक्तपुरमा असोज २१ गते लुटपाट गरि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जग्गाको कारोबार गर्दै आएका भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन लामाको हत्या भएको थियो।
हत्याको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको हो।
महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार जग्गा हेर्ने भन्दै चन्द्रबहादुरको घरमा रमेश र प्रेम गएका थिए। घरनजिकै रहेको जग्गा देखाउन भनेर गएपछि चन्द्रबहादुरमाथि त्यही कुटपिट भएको थियो।
कुटपिटपछि उनको साथमा रहेको सुनको ब्रासलेट र मोबाइल लिएर दुवैजना फरार भएको कार्कीले जानकारी दिए।
कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रबहादुरको उपचारका क्रममा असोज २२ गते ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो।
‘मुख्य योजनाकार कामी शेर्पाले चन्द्रबहादुरसँग करिब १६ लाख रुपैयाँ लिनुपर्ने भएकाले धम्की दिएर असुली गर्न भन्दै रमेश र प्रेम तामाङलाई परिचालन गरेको देखिन्छ’ कार्कीले भने,‘घटनाबारे भक्तपुर प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको छ।’
उनीहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएको एक मोटरसाइकल, एक लाख ५५ हजारमा सुनको सिक्री विक्री गरी बचेको ४५ हजार रुपैयाँ नगदलगायतका सामग्रीसमेत बरामद गरेको जनाएको छ। .jpg)

असोज २७, २०७७ मंगलबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।