पानीमा मूल्यवृद्धि नगर्न व्यवसायीलाई निर्देशन
काठमाडौं : जार र बोतलको पानीमा मूल्यवृद्धि गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
विभागको सोमबार बसेको बैठकले व्यवसायीलाई जार र बोतलको पानी पुरानै मुल्यमा मूल्य विक्री गर्न दिर्नेशन दिएको हो।
विभागका निर्देशक सागर मिश्रले संसदीय समितिमा पानीको मूल्यका विषयमा परेको उजुरीमाथि छानविन भइरहेकाले पुरानै मूल्यमा पानी विक्री गर्न व्यवसायीलाई निर्देशन दिएको जानकारी दिए।
संसदीय समितिले छानविन गरिरहेकाले अर्को निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको मिश्रले बताए।
यसअघि विभागले मिश्रको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा साउन अन्तिम साता २० लिटर जारको प्रतिजार ५० रुपैयाँ र एक लिटर बोतलको १६ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।
बजारमा २५ देखि ४० रुपैयाँमा पाइने जारको पानीको मूल्य व्यापारीको हितमा हुने गरी ५० रुपैयाँ निर्धारण गरिएको भन्दै चौतर्फी आलोचना भैरहेको छ।
उपभोक्ता अधिकारकर्मीले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा यस बारेमा उजुरी गरेका थिए।
समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागू गरिएको थिएन।
व्यवसायीले असोज १८ गतेबाट नयाँ मूल्य लागू गरेका थिए। त्यसपछि विभागले व्यवसायीलाई बोलाएर संसदिय समितिले निर्णय नगर्दासम्म पुरानै मूल्यमा कारोबार गर्न निर्देशन दिएको हो।
असोज २७, २०७७ मंगलबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।