के-केमा खर्च भयो विषालु सर्प पाल्ने झलनाथ प्रतिष्ठानको ७२ करोड ?

के-केमा खर्च भयो विषालु सर्प पाल्ने झलनाथ प्रतिष्ठानको ७२ करोड ?

काठमाडौं : विषालु सर्प पाल्न तीन वटै सरकारबाट ७२ करोड अनुदान पाएको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खर्च विवरण सार्वजनिक गरेको छ।
 

सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको प्रतिष्ठानले साढे ८ बिघा जमिनमा विषालु सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादनका लागि ७२ करोड रुपैयाँ पाएको थियो।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको सो प्रतिष्ठानले सर्लाहीको लालबन्दी नगरपालिका-१ मा साढे ८ बिघा जग्गा खरिद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए। 

उनका अनुसार सर्प पाल्नका लागि प्रतिकठ्ठा साढे ३ लाखका दरले टेण्डरमार्फत जग्गा खरिद गरिएको छ। 

उनका अनुसार अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने छ।

सुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताए।

खर्च विवरण अनुसार कम्प्युटर, चेक, पिन्टर तथा भ्याकुम, फ्रिज, कार्यालय प्रयोजनका लागि मोबाइल सेट खरिद, पंखा, मोटर, एसी, क्यामेरा, डिस्प्ले बोर्ड र इन्भटरमा १४ लाख ६२ हजार ४ सय १५ रुपैयाँ खर्च गरिएको छ। त्यस्तै, अफिसका लागि प्रयोग हुने ल्यापटप, प्रिन्टर, फोटोकपी मेसीका लागि १३ लाख ५४ हजार ६ सय रुपैयाँ खर्च गरिएको छ।

डिपिआरको सुपरभिजन, इन्जिनियरिङको खर्च र आयोजनाको खरिद प्रक्रियाका लागि विज्ञहरुको परामर्शका लागि १८ लाख २२ हजार ७ सय ३१ रुपैयाँ रकममान्तरण गरिएको छ। 

त्यस्तै सवारी साधन भाडा वापतको खर्च र सवारी साधनका लागि इन्धनमा १० लाख ८३ हजार ३ सय ६५ रुपैयाँ खर्च गरिएको छ। साथै कार्यालयको व्यवस्थापनको खर्चमा ६ हजार ७ सय ८५, आयोजना कार्यालयमा मर्मत तथा सम्भार, आल्मुनियम पार्टेसन, गाडीको मर्मतका लागि पाँच लाख ५६ हजार ९ सय ८० रुपैयाँ खर्च भएको छ।

कर्मचारीको बिमाका लागि ५४ हजार ८ सय ८० रुपैयाँ छुट्टयाइएको छ। त्यस्तै चार पाङ्ग्रे गाडी ४९ लाख ४४ हजार ६ सय १४ रुपैयाँमा खरिद गरिएको छ।

त्यस्तै वेवसाइट निर्माणका लागि ९८ हजार ५ सय, फर्निचर खरिदमा १८ लाख ८० हजार ४ सय ३३ रुपैयाँ खर्च गरिएको छ। 

साथै अन्य फर्निचर खरिदमा ७८ हजार ८ सय ९६ रुपैयाँ खर्च भएको देखाइएको छ। 

त्यस्तै डिपिआरका लागि ३ करोड ४८ लाख ५९ हजार ३ सय ७० रुपैयाँ खर्च भएको छ। साथै अन्तिम डिपिआरका लागि १ करोड ८७ लाख ७० हजार ४ सय ३० रुपैयाँ खर्च भएको छ।

कर्मचारीको तलबमा १४ लाख ८३ हजार ९९ रुपैयाँ खर्च भएको छ भने इन्टरनेट र अन्य खर्च ६९ हजार ४ सय २२, २ वटा मोटरसाइकलमा ४ लाख ९९ हजार ७ सय, स्टेसनरी समाधानमा ६० हजार १ सय ९० र जग्गाा खरिदमा ६ करोड २५ लाख ६४ हजार ९ सय २५ रुपैयाँ खर्च भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।

असोज २७, २०७७ मंगलबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।