जग्गा दिने भन्दै ठगी गरेको आरोपमा ८ पक्राउ 

जग्गा दिने भन्दै ठगी गरेको  आरोपमा ८ पक्राउ 

कास्की : कास्कीको पोखरामा तीन सय रोपनी जग्गा दिने भन्दै ठगी गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-५, पर्स्याङ डेरा गरि बस्ने माछापुच्छ्रे गाउँपालिका-९, सिजिङ घर भएका ३९ वर्षीय हीराबहादुर तामाङ, पोखरा महानगरपालिका-१४ कुडहर बस्ने म्याग्दीको रघुगंगा गाउँपालिका-४, राफु घर भएका ३० वर्षीय रमेशकुमार परियार छन्।

यस्तै, पोखरा महानगरपालिका-१४ चाउथे बस्ने रूपन्देहीको सैनामैना नगरपालिका-९, बाँसगढी घर भएका ३५ वर्षीय ओमबहादुर सुनार, वडा नम्बर १३ बस्ने सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-३, एक्ले घर भएकी ३७ वर्षीया रिता विश्वकर्मा, वडा नम्बर १७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, बाँझपाटन बस्ने २७ वर्षीया सीता सुनार, मियापाटन बस्ने ५० वर्षीय हर्कबहादुर बिक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदाशंकर रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।  

उनीहरूलाई अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

स्थानीयलाई पोखरा महानगरपालिका-१४, भोटे चौतारा क्षेत्रमा रहेको तीन सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराइदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनि रकम उठाइरहेकै बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट नगद एक लाख ६१ हजार रूपैयाँ, विभिन्न मितिमा बैठक गरिएका निर्णय रजिस्टर १ थान, नगद उठाएको रजिस्टर १ थान, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरू, विभिन्न व्यक्तिहरूको नागरिकताको प्रतिलिपि १९ थान, विभिन्न व्यक्तिहरूको पासपोर्ट साइजको फोटोहरू र अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान बरामद गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

असोज २६, २०७७ सोमबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।