कीर्ते कागजात बनाएर जग्गा बेचेको आरोपमा पक्राउ

कीर्ते कागजात बनाएर जग्गा बेचेको आरोपमा पक्राउ

काठमाडौं :  कीर्ते कागजात बनाएर जग्गा बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१३, कुसुन्तीका केवल प्रताप जंग बहादुर राणा छन्। राणालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। 

राणाले पर्साको वीरगञ्ज कमलादेवी राजभण्डारीको महानगरपालिका-५ मा रहेको ५ कठ्ठा १५ धुरमा बनेको घर र जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरि आफ्नो नाममा राजीनामा पास गराएको खुलेको छ।

ब्युरोका अनुसार उनले वीरगञ्ज महानगरपालिका-४ का गिरधारी लाल अग्रवाललाई उक्त जग्गा बिक्री गर्न ५० लाख रूपैयाँ बयाना लिएका थिए। 

यसका लागि राणाले मुकेश राजभण्डारी नामको कीर्ते नागरिकता बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ। 

कागजात कीर्ते गरी ठगी गर्नेविरुद्ध कारवाही गरी पाउँ भनि राजिव राजभण्डारीले लिखत र ठगीसम्बन्धी कसूर मुद्दामा ब्युरोमा जाहेरी दरखास्त दिएका थिए।

राणाले जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट मुकेशराज भण्डारीको नामबाट कीर्ते नागरिकताको प्रमाणपत्र बनाएको खुलेको ब्युरोले जनाएको छ। 

राणालाई काठमाडौं महानगरपालिका रातोपुल, साधना गल्लीस्थित आफ्नै डेराबाट आइतबार पक्राउ गरिएको ब्युरोले जनाएको छ। राणालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको छ। 

असोज २६, २०७७ सोमबार १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।