केयुमा अनलाइनबाटै अधिवेशन
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कहरबीच काठमाडौं विश्वविद्यालय (केयु)ले अनलाइनबाटै प्राध्यापक संघको नयाँ कार्यसमिति चयन गरेको छ।
विश्वविद्यालयका प्राध्यापकहरूको साझा संस्था ‘काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ’ले चौथो अधिवेशन अनलाइनबाटै सम्पन्न गरि नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
अधिवेशबाट स्कुल इकाइहरूमा निर्विरोध सभापतिहरूको चयन भएको छ। संघले प्राध्यापकहरूले नै विकास गरेको सफ्टवेयरबाट मतदान सम्पन्न भएको जनाएको छ।
आइतबार सम्पन्न अधिवेशनले कार्यसमितिको सभापतिमा प्रा.डा.विवेक बराल, महासचिवमा डा. विकास अधिकारीलगायत ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
महामारीको असामान्य स्थितिमा पनि महाधिवेशनलाई अनिश्चित बनाउन नहुने अभिप्रायका साथ वैकल्पिक उपायमार्फत महानधिवेशन गरिएकोे संघले जनाएको छ। संघको अधिवेशन अन्य संघसंस्थालाई पनि उदाहरण बन्ने विश्वास लिएको छ।
संघका निवर्तमान सभापति सभापति डा.वेदमणि दाहालका अनुसार अधिवेशनमा प्रमुख अतिथिमा विश्वविद्यालयका पूर्वकुलपति तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिडियो सन्देशमार्फत महामारीको अवस्थामा समेत डिजिटल प्रविधिबाट अधिवेशन गर्दै उदाहरण पेश गर्दै प्रशंसा गरेका थिए।
त्यस्तै, विश्वविद्यालयका अर्का पूर्वकुलपति एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुभकामना पठाउँदै विश्वविद्यालयले कायम गरेको शैक्षिक गुणस्तरमा विश्वविद्यालयका प्राध्यापकहरूको अथक मेहनत र परिश्रम रहेको बताए।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभकामना सन्देश पठाउँदै शैक्षिक क्यालेन्डरलाई ब्यवस्थित गराउन प्राध्यापकहरूको महत्त्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरेका थिए।
विशेष अतिथिमा नास्टका उपकुलपति डा. सुनिल श्रेष्ठ र नेपाल प्राध्यापक संघका प्रा. डा. बुद्धबहादुर थापाले सम्बोधन गरेको संघले जनाएको छ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका प्राध्यापक संघ तथा वैचारिक प्राध्यापक संघका प्रतिनिधि, काठमाडौं विश्वविद्यालय सभाका सदस्य, काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य, कर्मचारी संघका प्रतिनिधि, प्राध्यापक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
नयाँ कार्यसमितिले विगतमा विश्वविद्यालयसँग भएका सहमति कार्यान्वयन तथा गुणस्तर वृद्धि गर्दै अध्ययन–अध्यापन र अनुसन्धानमा देशकै प्रमुख गन्तव्य बनाउन पहल गर्ने प्रतिवद्धता जनाएको छ।
असोज २६, २०७७ सोमबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।