जनस्वास्थ्य मापदण्डको व्यापक उल्लघंन 

जनस्वास्थ्य मापदण्डको व्यापक उल्लघंन 

काठमाडौं  : दिनहुँ कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा आम नागरिकले जनस्वास्थ्यका न्यूनतम् मापदण्ड उल्लघंन गर्ने क्रम पनि बढेको छ। 
 

सरकारले पटकपटक जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आग्रह गर्दापनि अधिकांशले अटेरी गर्दै आएका छन्। जसकारण संक्रमणको जोखिम झन् बढेको छ।

सरकारी कार्यालय, सवारी साधन, सपिङ मल, अस्पतालहरुमा दैनिक भीडभाड बढेको छ। यस्तै,अधिकांश नागरिकहरुले मास्कको समुचित प्रयोग समेत गरेका छैनन् भने भौतिक दुरी कायम भएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले स्वयम् व्यक्ति सचेत र सजग हुनुपर्ने बताउँदै आएका छन्।  

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले हेलचेक्रयाईले कोरोना संक्रमण थप बढ्ने भन्दै स्वयम् व्यक्ति आत्मानुशासन हुनुपर्ने बताए। उनले भने, ‘अहिले नागरिकहरुले हेलचेक्रयाई गर्दै आएका छन्। स्वयम् व्यक्ति सचेत र सजग हुनुपर्छ। मास्कको समुचित प्रयोग गर्नुपर्छ। 

हातले नाक, मुख छुनुहुँदैन। जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले जोखिम बढ्दै गएको भन्दै मास्कको उचित प्रयोग गर्नुपर्ने र भौतिक दुरी कायम गर्न आवश्यक रहेको बताए। 

स्वास्थ्य मन्त्रालयले गते ३१ जेठमा कोरोना भाइरस रोग महामारीको नियन्त्रणका क्रममा जनस्वास्थ्य मापदण्ड जारी गरेको थियो। 

मन्त्रालयले जारी गरेको मापदण्डअनुसार अबदेखि सबै किसिमका जमघट तथा भेलामा कम्तीमा दुई मिटरको दूरी अनिवार्य कायम गर्नुपर्नेछ। 

यस्तै, घरबाहिर निस्किनेबित्तिकै मास्क अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ। कार्यालयमा हात धुने व्यवस्था र सेनिटाइजर अनिवार्य राख्नैपर्ने हुन्छ। 

कुनै पनि कार्यालयको भवन प्रवेशअघि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ। 

मापदण्डअनुसार आधारभूत रूपमा कुनै पनि वस्तुलाई नछुने, आफ्नो आँखा, कान, नाक र मुखलाई जथाभावी छुन हुँदैन। 

यस्तै खोक्दा रुमाल वा टिस्यु पेपरले नाक छोप्नुपर्ने छ। साथै, हाछ्युँ गर्दा कुहिनाले नाक छोप्नुपर्ने हुन्छ। तर, मापदण्ड कार्यान्वयनमा आउन सकेको छैन। आइतवार देशभर २ हजार ७१ जना संक्रमित थपिएका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार सय पाँच जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। ७६ जना भेन्टिलेटरमा र तीन सय २९ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

असोज २६, २०७७ सोमबार १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।