धरहरा पुनःनिर्माणको म्याद दुई वर्ष थप्न माग 

धरहरा पुनःनिर्माणको म्याद दुई वर्ष थप्न माग 

काठमाडौं : धरहराको पुनःनिर्माण अवधि करिब दुई वर्ष थप्न ठेकेदार कम्पनीले सरकारसँग माग गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण निर्माण सामग्री र कामदार अभाव भएको भन्दै ठेकेदार कम्पनी रमन कन्सट्रक्सनले धरहरा पुनःनिर्माण अवधि दुई वर्ष थप्न माग गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविद् राजु मानन्धरले जानकारी दिए। 

धरहरा पुनःनिर्माणको सम्झौता अवधि गत मंगलबार (अक्टुवर ६ मा) सकिएको छ। उक्त सम्झौता नवीकरणको प्रक्रियामा छ। 

सम्पदाविद् मानन्धरले कोरोना भाइरसको कारण धरहरा पुनःनिर्माणले अपेक्षा अनुसार गति लिन नसकेको बताए। ‘भारतबाट बोलाइएका दक्ष जनशक्ति नहुँदा अपेक्षा अनुसार काम हुन सकेन। यद्यपि, काम नै भएन भन्नचाहिँ मिल्दैन,’ उनले भने। 

कोरोना महामारीपछि धरहरा पुनःनिर्माणमा पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। प्राधिकरणका अनुसार लकडाउन सुरु हुनुअघि धरहराको पुनःनिर्माणको भौतिक प्रगति ३८ प्रतिशत थियो। अहिले ४३ प्रतिशत पुगेको छ। 

साढे एक सय कामदार खटिँदै 

प्राधिकरणका अनुसार धरहरा पुनःनिर्माणमा अहिले एक सय ५० कामदार खटिएका छन्। 

लकडाउनअघि तीन सय ५० जना कामदार पुनःनिर्माणमा खटिएका थिए। लकडाउनबीचमा भने २०÷२५ जना कामदारले काम गरेका थिए। 

अहिलेसम्म धरहराको १६ औं तलाको ढलान सम्पन्न भइसकेको सम्पदाविद् मानन्धरले जानकारी दिए। उनका अनुसार धरहराको अन्डरग्राउण्डमा ट्रिपल बेसमेन्ट निर्माण भइरहेको छ, जसमा चार सय वटा सानो गाडी र सात सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ। 

धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना राखिने छ। 

प्राधिकरणका अनुसार अब बन्ने धरहरा करिब ४२ रोपनी क्षेत्रफलमा फैलिने छ। धरहराको चौडाइ पनि पहिलेभन्दा ठूलो छ। जहाँ दुईवटा लिफ्ट हुने छ। एउटा परम्परागत भर्याङ रहने छ। 

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त बनेको धरहरा पुनःनिर्माणको २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

ठेकेदार कम्पनीले भने २०७५ कात्तिक धरहरा पुनःनिर्माण थालेको थियो। 

असोज २५, २०७७ आइतबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।