कांग्रेसले भन्यो- सहमति उल्लंघनको नजिर दोहोरिन नदिन खबरदारी जरुरी

कांग्रेसले भन्यो- सहमति उल्लंघनको नजिर दोहोरिन नदिन खबरदारी जरुरी

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिको स्वागत गर्दै सहमतिको उल्लंघनको नजिर दोहोरिन नदिन खबरदारी जरुरी रहेको जनाएको छ। 

प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयनका लागि खबरदारी जारी राख्न सबैमा अपील गरेका छन्।

‘वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको थियो’ विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले डा. केसीका मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको हो।’

थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुंदे सहमति इमान्दार ढंगले कार्यान्वयनगर्दै अघि बढ्न कांग्रेसले वर्तमान सरकारलाई सजग गराउंदै सार्वजनिक रुपले आग्रह समेत गरेको छ। 

डा. केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै आग्रहपूर्णरहेको औल्याउँदै जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहार रहेको जनाएको छ। 

स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले डा. केसीको पछिल्लो आन्दोलनमा सहभागी हुने सबैलाई कांग्रेसले धन्यबादसमेत दिएको छ। 
 

असोज २५, २०७७ आइतबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।