पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ।
मन्त्री भट्टराईले आफूलाई संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्।
शनिबार गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो। भट्टराईले कोरोना संक्रमणपछि लक्षणका रुपमा आफूलाई हल्का ज्वरो आएको उल्लेख गरेका छन्।
'हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो', उनले भनेका छन्, 'आज शनिबार पुन: कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन।'
मन्त्री भट्टराई दुई सातायता विभिन्न जिल्लामा पुगेका छन्।
यसअघि उनले सोमबार कोरोना परीक्षण गराउदा रिपोर्ट नेगेटिभ आएको थियो। बुधबार गृहजिल्ला ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा हेलिकोप्टरबाट पुगेका थिए। उनले ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालसहित पुगेर बोर्डर आउट पोस्ट उद्घाटन गरेका थिए। गत शनिबार बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको एक कार्यक्रमबीच उनले उद्घाटन गरेका थिए।
असोज २४, २०७७ शनिबार १९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।