‘ब्रेकिङ डिस्ट्यान्स’ को अभावमा चितवनमा बढ्दैछ सामूहिक दुर्घटना, नियमनमा छैन कडाइ

‘ब्रेकिङ डिस्ट्यान्स’ को अभावमा चितवनमा बढ्दैछ सामूहिक दुर्घटना, नियमनमा छैन कडाइ

घटना नं १ : २०८० साउन ३१ गते भरतपुर महानगरपालिका–९ स्थित टिकौली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटनामा परे। एकपछि अर्को सवारीसाधन ठोक्किँदा भएको दुर्घटनामा २० जना यात्रु घाइते भए।

घटना नं २ : २०८१ जेठ १४ गते नारायणगढ–मुग्लिङ सडक खण्डको सत्रकिलोमा पाँचवटा सवारीसाधन एकै ठाउँमा ठोक्किदा एक जनाको मृत्यु भयो। २३ जना घाइते भए।

घटना नं ३ : २०८२ कात्तिक १ गते कुनै सिनेमाको दृश्यजस्तै दुर्घटना भयो। नारायणगढ–मुग्लिङ सडकको गाईघाटमा ७ वटा गाडी एकै ठाउँमा, एकै पटक ठोक्कियो। २१ जना घाइते भए।

घटना नं ४ : २०८२ कार्तिक १३ गते भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा रोकिरहेका ट्रकमा दुई बस ठोक्किँदा ३३ यात्रु घाइते भए।

जिल्ला ट्राफिक कार्यालय भरतपुरको तथ्याङ्क हेर्ने हो भनेर यसरी एकै पटक एकै ठाउँमा धेरै सवारीसाधनहरू ठोक्किएर भएको दुर्घटनाको संख्या बढिरहेको देखिन्छ।

‘एकै पटक एक ठाउँमा दुर्घटना हुने क्रम दोहोरिइरहेको छ, नारायणगढ–मुग्लिङ सडकको गाईघाटमा पनि यही भएको हो’, ट्राफिक कार्यालय भरतपुरका प्रमुख गायत्रीराज शर्माले भने।

उनका अनुसार नारायणगढ मुग्लिङ सडकमा हुने गरेको एकैठाउँमा धेरै दुर्घटना टिकौली जङ्गलमा पनि हुन थालेको छ । 

दुईवटा सवारी ठोक्किएर हुने दुर्घटना सामान्य प्रकृतिको भए पनि सातवटा सवारी, तीन वटा सवारी  एकै ठाउँमा ठोक्किनु गम्भीर विषय भएको ट्राफिक प्रमुख शर्मा बताउँछन्।

उनी चिन्तित त देखिए तर यसको कारण पहिल्याएर जोखिम घटाउने पक्षमा प्रभावकारी प्रयास भएको देखिएन। दुर्घटनाको प्रकृति र सम्बन्धित निकायको मौनताले उनीहरू ठुलै दुर्घटनाको प्रतीक्षामा बसे जस्तै देखिन्छ।

भूगोल र गति कति ?

गाईघाटमा नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस आपसमा ठोक्किए। अनि गाडी पछाडि आइरहेका गाडीहरू क्रमशः ठोक्किए।

ट्रकको पछाडि रहेका गाडीहरू भने ठोक्किएनन्। कारण उनीहरूले सडकमा दूरी कायम गरेर चलाएका थिए। तर बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि रहेको बा.प्र. ०६–००१ ग ०४८४ नम्बरको माइक्रो, पछाडि रहेको ग २ ख १६२६ नम्बरको बस, त्यसको पछाडि ना ३ च ३२५६ नम्बरको बोलेरो भ्यान र त्यसको पछाडि रहेको बिएबी ८४७० नम्बरको कार सम्हालिन सकेनन्। एकपछि अर्को ठोक्किँदै गए।

यी सबैको मुख्य कारण सवारी गति देखियो। बससहितका सवारीसाधनको गति उच्च हुँदा बस ठोक्किएपछि त्यसको पछाडि रहेका अन्य सवारीसाधनले ब्रेक लगाएर सवारीसाधन रोक्न भ्याएनन्। अनि एकपछि अर्को ठोक्किँदै गए।

“सवारी चलाउँदा कति स्पिड छ, अर्को गाडीसँगको दूरी कति फरक हुनुपर्छ भन्ने चालकले ख्याल गर्नुपर्छ’, ट्राफिक प्रमुख शर्माले भने “ठोक्किएका सवारीसाधनबीचको दूरी निकै कम भएको हुनुपर्छ, नत्र यसरी एकै पटक एकै ठाउँमा सातवटा सवारी ठोक्किँदैनन्।” उ

दुई दिनअघि टिकौलीमा भएको दुर्घटना पनि यस्तै प्रकृतिको देखियो। भरतपुर–९ टिकौली जङ्गलमा इँटा लोड गरेर पार्किङ  गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा दुई बस ठोक्किएका थिए।

गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र यसकै पछाडि रहेको जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको  बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रु बाहक बस ठोक्किए। यसको कारण पनि सवारी गति र एक सवारीबाट अर्को सवारीको दुरी नै देखियो।

सवारीको ‘ब्रेकिङ डिस्ट्यान्स’

ट्राफिक प्रहरीका अनुसार अगाडिको सवारी ६० किलोमिटरको गतिमा छ भने पछाडिको सवारीले ३६ मिटरको दूरी कायम राख्नुपर्छ। अगाडिको सवारी ५० किलोमिटरको गतिमा छ भने पछाडिको सवारीले २३ मिटरको दूरी कायम राख्नुपर्छ।

‘अगाडिको सवारीले झ्याप्पै रोके पनि पछाडिको सवारीले ब्रेक लगाउन सक्ने गरी दूरी कायम राख्नुपर्छ। दूरी निकै कम भएकै कारण यो क्षति भएको हो’ ट्राफिक प्रमुख शर्माले भने।

प्रतिघण्टा ४० किलोमिटरको गतिमा भएको सवारीसँग पनि कम्तीमा १७ मिटरको दूरी कायम राख्नुपर्छ। यदि अगाडिको सवारीको स्पिडको गति अनुसार पछाडिको सवारीले दुरी कायम नगर्ने हो भने ब्रेक लगाएर सवारीसाधन रोक्न गाह्रो हुन्छ।

माथिबाट पहिरो आउन सक्ने, तल नदी भएका कारण नारायणगढ–मुग्लिङ सडक आफैँमा जोखिमयुक्त छ। त्यसमा यस्तो सडकमा चालकले आफूले चलाएको सवारीसँग अर्को सवारीसँगको दूरी कायम नै राख्दैनन्।

चितवन प्रहरीका एसपी गोविन्द पुरी पनि पछिल्ला दुर्घटनाको कारण ‘ब्रेकिङ डिस्ट्यान्स’ कम हुनु रहेको बताउँछन्। ट्रक र बस ठोक्किएपछि बसको पछाडि रहेका गाडीहरूले तत्कालै गति नियन्त्रण गर्न नसक्दा एकै ठाउँमा धेरै गाडीहरू ठोक्किएको उनले बताए।

प्रारम्भिक अनुसन्धानमा गाडीहरूको स्पिड ८० किलोमिटरसम्म भएकाले एकपछि अर्को गाडी ठोक्किएको र यसको मूल कारण गाडीहरूको ‘ब्रेकिङ डिस्ट्यान्स’ निकै कम हुनु रहेको उल्लेख छ।

समस्या त देखियो एक गाडीबाट अर्को गाडीको कम दुरी हुनु, गाडीको गति धेरै हुनु। तर नियन्त्रण कसरी गर्ने? यसबारे भने प्रस्ट नीति र कार्यक्रम देखिएन। यसबारे प्रहरी छानबिन भइरहेको मात्र जवाफ दिन्छन्।

-किशोर खनाल

कात्तिक १५, २०८२ शनिबार १७:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।