दाबी मात्र होइन, व्यवहारमै तथ्यपरक पत्रकारिताको अभ्यास
पाँच वर्षअघि पाथसिड नेपाल प्रालिमार्फत शुरू गरिएको उकेरा डटकम कुनै आकस्मिक परियोजना थिएन। यो नेपाली पत्रकारितामा फरक दृष्टिकोण, जिम्मेवार लेखन र तथ्यमा अडिग रहने प्रतिबद्धताको अभ्यास थियो। ‘सबै खबर होइन, सत्य र सान्दर्भिक खबर’ भन्ने मूल मर्मसहित उकेराको यात्रा शुरू भएको थियो। पाँचौं वर्षमा आइपुग्दा यसमा हामी थप प्रतिबद्ध भएका छौँ।
यो अवधिमा हामीले ‘भ्याएजति समाचार’ होइन, ‘गहिराइका समाचार’ प्रकाशन गर्ने नीति अख्तियार गर्यौँ। तथ्यपरक र खोजमूलक सामग्री तयार पार्ने क्रममा चुनौतीहरू पनि आए, तर जोखिम मोलेर पनि सत्य पस्कने पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धता अडिग रह्यो। हामी लोकप्रियतावादबाट जोगिन सधैँ सचेत रह्यौ।
चैत १५ को राजावादी आन्दोलन होस् या जेन-जीको जोखिमपूर्ण अभियान, उकेराले सधैँ तथ्यका आधारमा लेख्यो। निष्पक्ष दृष्टिकोणबाट सन्दर्भको गहिराइमा पुग्ने हाम्रो अभ्यासले पत्रकारितामा उकेराको अलग पहिचान निर्माण गर्यो।
हाम्रो यो प्रयासलाई पठाकहरुले साथ र हौलसा दिए। पाठक र दर्शकबाट प्राप्त हौसला, समर्थन र विश्वासले हाम्रो कदमलाई थप दृढ बनायो। त्यसै क्रममा ‘उकेरा म्यागजिन’ मार्फत जेन-जी आन्दोलनका घटनाक्रमलाई ऐतिहासिक दस्तावेजका रूपमा सुरक्षित राख्ने हाम्रो अभियानमा पाठकले देखाएको उत्साहजनक साथले हामीलाई थप जिम्मेवार बनाएको छ।
गुणस्तरीय र अनुसन्धानात्मक पत्रकारिता सधैँ चुनौतीपूर्ण हुन्छ। यसको सबैभन्दा चुनौती आर्थिक पक्ष पनि हो। आर्थिक स्थायित्वका लागि हामीले सब्स्क्रिप्सन सेवा शुरू गर्यौँ। ४ हजारभन्दा बढी पाठक सो सेवामा सहभागी भएर हाम्रो पत्रकारितालाई प्रत्यक्ष साथ दिएका छन्। यो हाम्रा लागि ठूलो प्रेरणा हो।
उकेराले हडपिएको सार्वजनिक सम्पत्ति, स्वास्थ्य क्षेत्रमा मौलाएको भ्रष्टाचार र राज्य संरचनामा संस्थागत रूपमा फैलिएको अनियमितताविरुद्ध आवाज उठायौँ। पक्षमा होइन, सधैं तथ्यमा केन्द्रित भयौँ। उकेराले उजागर गरेका महत्वपूर्ण विषयहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगहुँदै विशेष अदालतसम्म पुग्नु हाम्रो तथ्यपरक पत्रकारिताको प्रभावको प्रमाण हो।
जेनजी आन्दोलनसँगै देश फेरि परिवर्तनको मोडमा छ। नयाँ पुस्ताका प्रश्न, असन्तोष र आकांक्षा- यी सबैले सत्ता र समाज दुवैलाई चुनौती दिइरहेका छन्। यो परिवर्तनको लहरले सञ्चार माध्यमहरूलाई पनि आत्ममूल्याङ्कन र पुनर्विचारको अवसर दिएको छ। यसप्रति हामी सचेत छौँ।
राज्य संरचनाका गतिविधिहरूको निगरानी, जिम्मेवारीमा रहेका व्यक्तिहरूको नियमन र अनुगमन, र समाजमा पछि पारिएका वर्गहरूको आवाज बन्दै हामी तथ्यपरक सामग्री पस्कने अडानमा अडिग छौँ। हाम्रो लक्ष्य स्पष्ट छ- सङ्ख्याभन्दा गुणस्तरमा जोड, सनसनीभन्दा सत्यमा जोड, र नाराभन्दा निगरानी र खबरदारीमा जोड।
अन्त्यमा, निरन्तर साथ, भरोसा र खबरदारीका लागि हामी पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यही साथ, विश्वास र खबरदारीले नै हाम्रो यात्रालाई अझ सबल बनाउनेछ भन्ने आशा गर्दछौँ।
सुरेश ढकाल
अध्यक्ष
पाथसिड नेपाल प्रालि
कात्तिक १५, २०८२ शनिबार १५:०८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।