तिलिचोमा पाँच दिनदेखि फसेका ११ पर्यटकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

तिलिचोमा पाँच दिनदेखि फसेका ११ पर्यटकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाडौं : भारी हिमपात र अविरल वर्षाका कारण मनाङस्थित तिलिचो बेस क्याम्पमा पाँच दिनदेखि फसेका ११ जना आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालयको विशेष टोलीले जोखिमपूर्ण अवस्थामा रहेका उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो।

एसपी टोपबहादुर डाँगीको कमान्डमा खटिएको मेडिकलसहितको माउन्टेन रेस्क्यु टिमले करिब ९ घण्टा लामो कठिन यात्रापछि पर्यटकहरूलाई उद्धार गर्न सफल भएको हो।

उद्धार टोलीका अनुसार, बाटो अत्यन्तै साँघुरो, भिरालो र करिब दुई फिट बाक्लो हिउँले ढाकिएको थियो, जसले उद्धार कार्यलाई निकै चुनौतीपूर्ण बनाएको थियो। टोलीले विशेष पर्वतीय उद्धार उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको हो।

उद्धार गरिएकाहरूमा एक जना खुट्टामा चोट लागेका व्यक्ति, एक ९ वर्षीय बालक र एक जना बिरामी महिलासहित अन्य ८ जना रहेका छन्। फसेका सबैको अक्सिजनको स्तर कम भएको पाइएको थियो। हाल उनीहरूको अवस्था सामान्य रहेको र सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।

यो सफल उद्धारले सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार क्षमतालाई पुनः प्रमाणित गरेको छ। शिक्षालयले यसै आर्थिक वर्षमा पहिलो पटक ‘0हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू’ तालिम सञ्चालन गरेको थियो।

सोही तालिमका क्रममा ३९ जना प्रशिक्षक तथा प्रशिक्षार्थीले असोज अन्तिम साता ६,०३८ मिटर अग्लो चुलु फार इस्ट हिमालको सफल आरोहण गरेका थिए। यही तालिम र अनुभवले यस्ता जटिल उद्धार कार्यमा थप प्रभावकारिता ल्याएको बताइएको छ।

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकको सुरक्षाका लागि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, यो घटनाले नेपालको हिमाली पर्यटनमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्वतयारीको महत्त्वलाई उजागर गरेको छ।

कात्तिक १५, २०८२ शनिबार १०:२०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।