दोलखामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु, फरार चालक पक्राउ

दोलखामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु, फरार चालक पक्राउ

दोलखा : दोलखाको बिगु गाउँपालिकामा चलिरहेको ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ। शुक्रबार साँझ भएको उक्त दुर्घटनामा फरार रहेका चालकलाई प्रहरीले पछि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बिगु गाउँपालिका-६, आलम्पुस्थित भित्री कच्ची सडकखण्डमा चिम्टे रथालबाट आलम्पुतर्फ ढुङ्गा बोकेर आउँदै गरेको प्र.१-०१-००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट खस्दा स्थानीय ४० वर्षीय मानबहादुर थामीको गम्भीर चोटका कारण मृत्यु भएको हो।

घटना शुक्रबार साँझ करिब ५ बजे भएको भए पनि प्रहरीलाई शनिबार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो। सूचना पाउनासाथ प्रहरी चौकी बिगु र जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।

सुरुमा चालक नाम, थर नखुलाई फरार भए पनि प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-७ का २४ वर्षीय राम बहादुर थापा रहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय, दोलखाको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान थालिएको छ।

मृतक थामीको शव पोष्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ।

कात्तिक १५, २०८२ शनिबार ०९:४८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।