काकुको फिल्मको प्रिमियरमा देखिएनन् जिग्री र पाँडे, के मा थियो चित्त दुखाइ?
काठमाडौं : हास्य कलाकार दीपक प्रसाद आचार्य ‘काकु’को कथा तथा निर्देशनमा बनेको फिल्म ‘परान’को बिहीबार साँझ भव्य प्रिमियर सम्पन्न भयो।
काठमाडौंको सिभिल मलमा आयोजित प्रिमियरमा फिल्मकर्मी, कलाकार तथा व्यवसायीहरूको बाक्लो उपस्थिति थियो। तर, सबैको नजरले खोजेका दुई महत्त्वपूर्ण अनुहार भने त्यहाँ देखिएनन्- काकुका लामो समयदेखिका सहकर्मी कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’।
एक समय हास्य टेलिशृङ्खला ‘भद्रगोल’ देखि ‘सक्किगोनी’सम्म अटुट सहकार्य गरेको जिग्री, पाँडे र काकुको तिकडी दर्शकमाझ निकै लोकप्रिय थियो।
पर्दामा होस् वा पर्दाबाहिर, उनीहरूको मित्रता सधैँ चर्चामा रहन्थ्यो। तर, काकुको जीवनको यति महत्त्वपूर्ण दिनमा उनीहरू दुवैको अनुपस्थितिले उनीहरूबीचको सम्बन्धमा आएको चिसोपनालाई थप पुष्टि गरेको छ।
किन चिसियो सम्बन्ध?
उनीहरूको मित्रतामा दरार गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’बाट शुरू भएको चर्चा छ।
उक्त फिल्मको लेखनको प्रारम्भिक चरणदेखि सहकार्य गरेका दीपकलाई फिल्म घोषणा कार्यक्रममा बेवास्ता गरिएपछि सम्बन्धमा चिसोपना आएको थियो। यद्यपि, दीपकले यस विषयमा सार्वजनिक रूपमा कसैप्रति आरोप लगाएका छैनन्। तर, त्यही घटनापछि उनीहरूको व्यावसायिक सहकार्य टुटेको थियो।
‘लाज शरणम्’को टिम छायाङ्कनमा व्यस्त रहँदा यता दीपकले आफ्नो नयाँ फिल्म ‘परान’ दर्ता गराएर काम अघि बढाएका थिए।
सार्वजनिक रूपमा आफूहरूबीच कुनै मनमुटाव नरहेको बताउँदै आए पनि ‘परान’को प्रिमियरमा जिग्री र पाँडेको अनुपस्थितिले धेरै कुरा स्पष्ट पारेको छ। उनीहरूले सामाजिक सञ्जालमार्फत फिल्मलाई शुभकामना दिन भ्याए, तर भौतिक उपस्थिति जनाएनन्।
यसको ठीकविपरीत, केही समयअघि अर्जुन घिमिरेको फिल्म ‘झरिपछिको इन्द्रेणी’को शुभमुहूर्त कार्यक्रममा भने दीपक शुभकामना दिन पुगेका थिए। तर, दीपकको निम्तोमा अर्जुन र कुमार दुवै उपस्थित नहुनुले उनीहरूबीचको सम्बन्ध सहज नरहेको सङ्केत गर्छ।
प्रिमियरमा ‘सक्किगोनी’का अन्य कलाकारको उपस्थिति पनि निकै पातलो थियो, जसले उनीहरूको टिमभित्रको खटपटलाई थप बल दिएको छ। कार्यक्रममा उपस्थित अधिकांश अतिथिले फिल्मको प्रशंसा गरे।
तर, कुनै बेलाका सहयात्रीहरूको अनुपस्थितिले प्रिमियरको माहोलमा उनीहरूबीचको सुमधुर सम्बन्ध छ कि छैन भन्ने प्रश्नलाई भने थप बल दिएको छ।
कात्तिक १५, २०८२ शनिबार ०८:२२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।