७२ प्रतिशत भारतीय रहेको एच-१बी भिसामाथि ट्रम्प प्रशासनको कडा निगरानी, ‘अमेरिकी सपना’ खोसेको आरोप

७२ प्रतिशत भारतीय रहेको एच-१बी भिसामाथि ट्रम्प प्रशासनको कडा निगरानी, ‘अमेरिकी सपना’ खोसेको आरोप

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको श्रम विभागले कम्पनीहरूले एच-१बी भिसाको दुरुपयोग गरेको गम्भीर आरोप लगाएको छ। विभागले एक भिडियो सार्वजनिक गर्दै कम्पनीहरूले अमेरिकी युवाहरूको ‘अमेरिकन ड्रिम’ (अमेरिकी सपना) खोसेको दाबी गरेको हो।

विभागका अनुसार, कम्पनीहरूले अमेरिकी नागरिकको सट्टा कम तलबमा विदेशी कामदारहरूलाई गैरकानुनी रूपमा रोजगारी दिएर भिसा प्रणालीको दुरुपयोग गरेका छन्।

सार्वजनिक भिडियोमा कम्पनीहरूलाई यस्तो गल्ती गर्न दिने राजनीतिज्ञ र कर्मचारीतन्त्रलाई पनि दोषी ठहराइएको छ। भिडियोमा उल्लेख गरिएअनुसार, अमेरिकामा रहेका कुल एच-१बी भिसा धारकहरूमध्ये ७२ प्रतिशत भारतीय र १२ प्रतिशत चिनियाँ नागरिक छन्।

श्रम सचिव लोरी चाभेज-डेरेमरको नेतृत्वमा कम्पनीहरूलाई भिसा दुरुपयोगको लागि जवाफदेही बनाइने र अमेरिकी नागरिकका लागि ‘अमेरिकन ड्रिम’ फिर्ता ल्याउने अभियान सुरु गरिएको भिडियोमा बताइएको छ।

के हो ‘प्रोजेक्ट फायरवाल’?
सार्वजनिक गरिएको ५१ सेकेन्डको भिडियोमा ‘प्रोजेक्ट फायरवाल’ नामक एक विशेष कार्यक्रमको उल्लेख गरिएको छ। यस कार्यक्रममार्फत एच-१बी भिसाको दुरुपयोग गर्ने कम्पनीहरूलाई जिम्मेवार ठहराइने र रोजगारीमा अमेरिकीहरूलाई प्राथमिकता दिइने बताइएको छ।

श्रम विभागले ‘प्रोजेक्ट फायरवाल’ लाई एच-१बी भिसामाथि कडा निगरानी राख्ने कार्यक्रमको रूपमा अघि सारेको छ। यसको मुख्य उद्देश्य अमेरिकी कामदारहरूको अधिकार, तलब र रोजगारीका अवसरहरू सुरक्षित गर्नु हो।

यो परियोजना अन्तर्गत, कम्पनीहरूले विदेशी कामदार भर्ना गर्नुअघि अमेरिकी नागरिकलाई प्राथमिकता दिएको सुनिश्चित गर्नुपर्नेछ। परियोजनाले कम्पनीहरूको जाँच गर्नेछ र यदि कुनै अनियमितता भेटिएमा, प्रभावित कामदारहरूलाई बाँकी तलब भुक्तानी गराउने, जरिवाना लगाउने र निश्चित समयका लागि एच-१बी कार्यक्रमबाट निलम्बन गर्नेसम्मको कारबाही गर्नेछ।

भिसा शुल्क एक लाख डलरसम्म पुर्याउने प्रस्ताव
अमेरिकी सरकारले गत महिना एच-१बी भिसाको शुल्क बढाएर १ लाख अमेरिकी डलर पुर्याउने प्रस्ताव गरेको थियो। यो शुल्क आवेदन दिँदा एक पटक मात्र तिर्नुपर्नेछ।

यो नियम सेप्टेम्बर २१, २०२५ देखि लागू गर्ने भएको छ, जसको मुख्य उद्देश्य विदेशी कामदारमाथिको निर्भरता कम गर्नु हो। यो नियम पुराना भिसा धारकहरूमा लागू हुनेछैन, केवल नयाँ आवेदकहरूले यो शुल्क तिर्नुपर्नेछ।

यसअघि एच-१बी भिसाका लागि सात हजार अमेरिकी डलर लाग्ने गर्थ्यो, जुन ३ वर्षका लागि मान्य हुन्थ्यो। यसलाई थप ३ वर्षका लागि नवीकरण गर्न सकिन्थ्यो।

के हो ‘अमेरिकन ड्रिम’?
‘अमेरिकन ड्रिम’ एक यस्तो अवधारणा हो, जहाँ हरेक व्यक्तिले आफ्नो मेहनत र क्षमताको आधारमा जीवनस्तर सुधार्ने समान अवसर पाउँछ। यसले जातीय, वर्गीय वा पारिवारिक पृष्ठभूमिभन्दा माथि उठेर सफलता, स्वतन्त्रता र सुखको खोजी गर्ने अधिकारलाई जनाउँछ।

सन् १९३१ मा लेखक जेम्स एडम्सले आफ्नो किताबमा यसलाई 'अमेरिकन ड्रिम' नाम दिएका थिए। उनका अनुसार, यो केवल धेरै पैसा कमाउने सपना होइन, बरु हरेक व्यक्तिले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न पाउने र योग्यताको आधारमा सम्मान पाउने अवसर हो।

फ्लोरिडाका विश्वविद्यालयमा एच-१बी भिसामा रोक
यसैबीच, फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले राज्यका विश्वविद्यालयहरूलाई एच-१बी भिसामा विदेशी कामदारहरूलाई रोजगारी नदिन निर्देशन दिएका छन्। उनले अमेरिकी नागरिकलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

डिसेन्टिसले भने, ‘देशभरिका विश्वविद्यालयहरूले योग्य अमेरिकीहरू हुँदाहुँदै एच-१बी भिसामा विदेशीहरूलाई बोलाइरहेका छन्। फ्लोरिडामा हामी यो दुरुपयोग सहन सक्दैनौँ।’

उनले यदि विश्वविद्यालयहरूले योग्य अमेरिकी नपाए आफ्नो पाठ्यक्रममाथि नै प्रश्न उठाउनुपर्ने बताएका छन्।

कात्तिक १५, २०८२ शनिबार ०७:५४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।