चक्रवात ‘मोचा’को प्रभाव घट्यो, तर वर्षा र हिमपातको सम्भावना कायमै

चक्रवात ‘मोचा’को प्रभाव घट्यो, तर वर्षा र हिमपातको सम्भावना कायमै

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोचा’ को प्रभाव नेपालमा कम हुँदै गएको जनाएको छ।

यद्यपि, पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा बदली कायमै रहने महाशाखाले बताएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशमा पूर्ण बदली छ भने देशका अन्य भूभागमा सामान्यतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्छ।

राति कोशी र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कात्तिक १५, २०८२ शनिबार ०७:३२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।