चितवनका सिडिओले जाँचबुझ आयोगलाई बुझाए ‘अ’ र ‘आ’को अर्थ

चितवनका सिडिओले जाँचबुझ आयोगलाई बुझाए ‘अ’ र ‘आ’को अर्थ

चितवन : चितवनका सिडिओ गणेश अर्यालले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई ‘अ’ र ‘आ’को अर्थ बुझाउनले प्रयास गरे। जेन-जी पुस्ताको आन्दोलनकोक्रममा भएको क्षतिबारे बुझ्न हिँडेको आयोगका अधिकारीलाई उनले भने, ‘अ’ र ‘आ’ को अर्थ बताउँदै भदौ २३ र २४ मा भएका सबै प्रमाण आफूसँग सुरक्षित रहेको बताए।  

आयोगद्वारा चितवनमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले ‘अ’ भनेको अराजक र अपराध गर्ने तत्त्व र ‘आ’ भनेको आन्दोलन भनेर अर्थाउँदै यो दुबैलाई छुट्टाएर सत्य प्रमाणसहित बसेको दाबी गरे। 

उनले भने, ‘भदौ २३ र २४ को घटनामा जोडिएका अराजक तत्त्व र शान्तिपूर्ण आन्दोलन गर्नेलाई छुट्टाउन सकेका छौँ, प्रमाण लिएर बसेका छौँ’ उनले चितवन जिल्लाको समग्र क्षतिको विषयमा आयोगसमक्ष जानकारी गराएका थिए।

‘हामीसँग सूचना छ, तोडफोड र आगजनी विषयको मिहिन ढंगले अध्ययन गरेका छौँ, हामीसँग तथ्य र प्रमाण सुरक्षित छन्, आन्दोलन गर्ने कुन-कुन हुन्, अराजक, उछृखलता आतङ्क मच्चाउने कुन-कुन हुन हामीसँग सूचना छ’ सिडिओ अर्यालले भने, ‘अ र आ छुट्टाउन हामी सक्षम छौँ, सबै तथ्य र प्रमाणहरू हामीसँग छ।’

‘नो इफ नो बट, कानुनी दायरामा ल्याउनुहोस् भनेर स्पष्ट निर्देशन दिन पर्यो, हामी अ र आ छुट्टाउन तयार छौँ’ आयोग समक्ष सिडिओ अर्यालले भने।  

उनले सबै चिज जलेर सकिए पनि चितवन जिल्लाले आशा नगुमाएको बताए। अपराध र अराजकलाई कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशनको अपेक्षामा आफूहरू बसेको उनले बताए। 

‘कारबाही गर्ने विषयमा आपराधिक तत्त्वलाई कानुनी कठघरामा उभ्याउन हामीलाई प्रोत्साहन भएन भने भोलि कुनै राष्ट्रसेवक कर्मचारी, कुनै सुरक्षाकर्मी, कुनै नेता, व्यवसायी यहाँ कोही बच्दैन, सोही अपराध गर्नेहरू पनि यहाँ बच्दैनन्’ उनले भने, ‘देश अराजकमा जान्छ, कानुनमाथि शासन हुन्छ।’

आयोगका सदस्य विज्ञानराज शर्माले आयोगको निष्पक्षताको विषयमा शङ्का नगर्न आग्रह गरे। पूर्वाग्रही ढङ्गले काम नगर्ने प्रतिबद्धता जनाउँदै उनले भने "आयोग स्पष्ट छ, हामी कुनै पनि आग्रह र पूर्वाग्रह लिएर छानबिन गर्दैनौ।" 

यस्तो छ क्षतिको विवरण

उनले चितवन जिल्लामा ६३ वटा सरकारी कार्यालय, ६ वटा स्थानीय तहका भवन, ७१ वटा वडा कार्यालय, ४१ वटा निजी आवासमा क्षति पुगेको बताए। आन्दोलनकोक्रममा ३७ वटा चारपाङ्ग्रे सवारी, ८३ वटा दुई पाङ्ग्रे सवारी, रेडक्रसका दुईवटा एम्बुलेन्स  जलेर नष्ट भएको उनले बताए। कारागारबाट भागेका ७ सय ४२ कैदी बन्दीमध्ये ६ सय ५ जनालाई फिर्ता ल्याउन सकिएको उनको भनाइ छ। 

कात्तिक १५, २०८२ शनिबार ००:४०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।