प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूलाई बालुवाटार बोलाएर खुलाइन् बालेनसँगको सम्बन्धदेखि प्रधानमन्त्री बन्ने बाध्यतासम्म
काठमाडौं : अन्तरिम सरकारको प्रधानमन्त्री बनेको करिब दुई महिना टेक्न लागेपछि सुशीला कार्कीले केही सम्पादकहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर मनको बह पोखिन्। ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेटसहित गठन भएको सरकारको प्रधानमन्त्रीमा कसरी प्रस्ताव आयो भन्ने प्रसङ्गदेखि उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको संवादसम्म खुलाइन्।
उनले भेटघाटमा राजनीतिक शक्ति सन्तुलन, पार्टीहरूको भविष्य, राजदूत फिर्ता र आगामी चुनावी परिदृश्यबारे समेत तीन घण्टा खुलेर कुरा गरेकी थिइन्।
बालेनसँगको नजिक सम्बन्ध, तर असहमति पनि
कार्की प्रधानमन्त्रीमा चयन भएकोदेखि पछिल्लो समय गृहमन्त्री ओमप्रकाश अर्याललाई गृहमन्त्रीबाट हटाउन बालेन शाह जोडिने गरेका छन्। शुक्रवारको भेलामा प्रधानमन्त्री कार्कीले शाहसँगको आफ्नो सम्बन्ध र संवाद नलुकाई सार्वजनिक गरिन्।
शाहसँग दुई पटक भेट भएको र उनले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न दबाब दिएको खुलाइन्। उनले भदौ २३ को दमनकारीलाई किन पक्राउ नगरेको भनेर प्रश्न सोध्ने गरेको बताइन्। तर गृहमन्त्रीको राजीनामा भने नमागेको उनको दाबी छ।
“बालेनलाई म छोरो भन्छु, ऊ मलाई दिदी भन्छ। उसले गृहमन्त्रीको राजीनामा मागेको छैन। तर ऊ हाम्रा कुरा सुन्दैन, एकोहोरो आफ्नो कुरा मात्र भन्ने स्वभाव छ।”
आगामी निर्वाचनमा सहभागी हुन बालेन समूह बलियो राजनीतिक शक्ति निर्माणको प्रयासमा सक्रिय देखिन्छ। उनको समूह नयाँ दल दर्ता गर्ने भन्दा पनि रास्वपा लगायतका दलमार्फत निर्वाचनमा सहभागी हुने रणनीतिमा देखिन्छन्। तर बालेन आफ्नै नेतृत्वमा दल दर्ता गर्न मानेका छैनन्।
कार्कीले बालेनसँगको संवादको आधारमा उनको स्वभाव राजनीतिक दल खोलेर प्रतिस्पर्धामा जाने खालको नभएको बताइन्।
"केपी-शेरबहादुर र प्रचण्ड भेट्दिन”
कार्की प्रधानमन्त्री हुनु भन्दा अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जेल हाल्नुपर्ने प्रतिक्रिया दिन्थिन्। उनी प्रधानमन्त्री भएपछि भेट्न गएका केहीलाई उनले त्यही भन्ने गरेकी छिन्।
शुक्रवार सीमित सम्पादकहरूसँगको छलफलमा उनले दलका शीर्ष नेतामाथि कारबाहीबारे त खुलाइनन् तर केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न इच्छा नभएको बताइन्। यी तीनै नेताहरू लामो समयदेखि सत्तामा रहेको भन्दै अब नयाँ पुस्ताका नेताहरूको पालो आएको बताएकी थिइन्।
“ईश्वर पोखरेल, पूर्णबहादुर खड्का, गगन थापा जस्ता नेतासँग भेट भइरहेकै छ। तर ओली, देउवा, प्रचण्डसँग भेट्ने मनस्थितिमा छैन” उनले छलफलमा भनिन्।
पौडेलको ‘राष्ट्रघाती बनाइदिने’ चेतावनी
भित्री पृष्ठभूमि सार्वजनिक भएको छैन। अहिलेसम्म भारतीय मिडियाको इन्डोर्समेन्ट, डिस्कर्डमा भएको छलफल र मतदान र बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको समर्थनको पृष्ठभूमिबाट कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेको देखिन्छ।
उनले शुक्रवारको छलफलमा आफू कसरी प्रधानमन्त्री बनेको प्रसङ्ग सुनाउँदै इच्छा भन्दा पनि बाध्यता भएको दाबी गरिन्। आफू प्रधानमन्त्री बन्ने पक्षमा नभएको तर अन्य कोही राजी नभएपछि प्रधानमन्त्री बन्नुपरेको उनको तर्क थियो।
“म लन्डन जाने तयारीमा थिएँ। भदौ २३ को आन्दोलनमा आफन्तले गोली खाएपछि अस्पताल पुगेँ। त्यहाँका दृश्य देख्दा आक्रोश उम्लियो। पत्रकारहरूले सोध्दा मैले कडा शब्द बोलेँ, त्यसपछि मलाई जेनजीकी आमा भनियो।”
उनका अनुसार त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री बन्न आग्रह गरे। आफूले प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि राष्ट्रपति पौडेल थरथर काम्दै ‘यस बेला पनि नबने त राष्ट्रघाती भन्छु’ भनेपछि बाध्य भएको उनको दाबी छ।
राजनीतिबारे कुलमान र ओमप्रकाश मौन
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कार्कीसँगै मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल, कुलमान घिसिङ, अनिल सिन्हा र जगदीश खरेल पनि उपस्थित थिए।
सो छलफलमा अब हुने निर्वाचनमा प्रधानमन्त्री कार्कीदेखि सरकारमा रहेका अन्य मन्त्रीहरू उम्मेदवार बन्छन् या बन्दैनन् भन्ने विषयमा समेत छलफल भएको थियो। सरकारमा रहेका कुलमान दल दर्ताको तयारीदेखि रास्वपामा सहभागी हुनेसम्मको रणनीतिमा देखिन्छन्। ओमप्रकाश अर्याल पनि प्रतिनिधी सभाको उप-निर्वाचनमा उम्मेदवार हुने तयारीमा थिए। रामेश्वर खनाल कांग्रेसमा प्रवेश गरे पनि सांसदको टिकट नपाएपछि पार्टी छाडेका थिए।
छलफलमा प्रशंग उठेपछि प्रधानमन्त्री कार्कीले नै मन्त्रीहरूलाई यसबारे सोधेकी थिइन्। त्यसमा अर्थमन्त्री रामेश्वर खनालबाहेक अन्यले प्रस्ट जवाफ दिएनन्। प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा उम्मेदवार नहुने बताइन्। उनले छलफलमा भनिन् “हामी चुनाव लड्दैनौँ, तर कुलमानजीको कुरा मलाई थाहा छैन।”
कात्तिक १५, २०८२ शनिबार ००:२०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।